
काठमाडौं, अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा छिट्टै लगानी शिखर सम्मेलन गर्ने घोषणा गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित लगानी बोर्डको १२ औं वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्री महतले सो घोषणा गर्नुभएको हो
अर्थमन्त्री महतले विश्व बजारमा सूचना प्रविधिको क्षेत्रमा स्थापित कर्पोरेट कम्पनीहरुको लगानी नेपालमा भित्र्याउने गरी सो शिखर सम्मेलन आयोजना गर्ने लागिएको पनि जानकारी दिनुभयो । त्यस अवसरमा उहाँले नेपालमा आर्थिक वृद्धि गराउने राम्रा सङ्केतहरु देखिएको उल्लेख गर्नुहुँदै त्यसले मुलुकको आर्थिक गतिविधिले बढावा पाउने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री महतले भन्नुभयो, ‘‘नेपालमा लगानी गर्ने र त्यसको बजार विदेशमा समेत प्राप्त गर्ने सम्भावना त्यसले दिएको छ । त्यस्तै गरेर अहिले आईटी सेक्टर यो बृहत् सम्भावनाको क्षेत्र छ । त्यसमा मुख्य लगानीकर्तालाई विदेशमा जुन स्थापित आईटी सेक्टरका कम्पनीहरु छन् । तिनीहरुलाई हामीले ल्याउन सक्नुपर्दछ । हामी चाँडै अब एउटा लगानी समिट पनि नेपालमा गर्छौं । त्यसका लागि तत्कालै हामी यथेष्ट गृहकार्य पनि सुरु गर्छाैं ।
बजेटमा पनि हामीले बोलेका छौं ।’’ नेपालमा पर्यटन, कृषि, जलविद्युत् र सूचना प्रविधिको क्षेत्रमा लगानी बढने र बजारको पनि राम्रो व्यवस्था भएकाले यस क्षेत्रमा बाह्य लगानी भित्रिने अर्थमन्त्री महतले बताउनुभयो । उहाँले भारतमा १० हजार मेगावाट विद्युत् १० वर्षमा खरिद गर्ने सम्झौता भएको र चीनमा पनि सरकारले सोही खालको सम्झौतालाई अब छिट्टै अघि बढाउने बताउनुभयो ।‘‘त्यसले पनि आर्थिक गतिविधि बढाउँछ । हाइड्रोपावरमा एउटा प्रगति लय पक्रिराखेको छ । इन्डियासँग जुन सम्झौता भएको छ ।
१० हजार मेगावाटसम्म विद्युत खरिद गर्ने दश वर्षमा । त्यसले लगानीकर्ताहरुलाई एउटा सुनिश्चित बजार प्रदान गरेको छ । त्यस्तै खालको समझदारी हामी चीनसँग पनि आगामी दिनमा हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । त्यसले एउटा थप बजारको सम्भावना छ । हामी पहिला पयर्टनको कुरा गर्दा पश्चिमी देशहरुको पर्यटकको कुरा मात्रै हाम्रो दिमागमा आउथ्यो ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘अथवा जापानको हाम्रो दिमागमा आउँथ्यो । अहिले हाम्रो छिमेकी देशहरुमा आर्थिक उन्नति, प्रगति भइराखेको छ । त्यसले एउटा धेरै ठूलो सम्भावना पर्यटनमा छ । तेस्रो सम्भावना हाम्रो यो कृषिक्षेत्रमा पनि ठूलो सम्भावना छ ।’’अर्थमन्त्री महतले नेपालमा बाह्य लगानी भित्र्याउने काममा लगानी बोर्डले अझ प्रभावकारी ढङ्गले पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।