
काठमाडौं, संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे हुने भएको छ।
आज बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो। सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय पनि गरेको छ।
एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ।
बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन्। १५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन्।
छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। नेम्वाङका २ छोरी र २ छोरा छन्। छोरीहरू भने काठमाडौंमा नै छन्।

नेम्वाङको हृदयघातका कारण सोमबार राति १ बजेर ४० मिनेट जाँदा निधन भएको थियो। यसअघि आज नै पार्टी कार्यालयमा प्रधानमन्त्रीसहित विभिन्न पार्टीका नेताहरुले नेम्वाड.लाई श्रद्धाञ्जली अर्पण गरेका थिए । पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्वजली अर्पण गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर दउवा, एीककृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरु पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
