– नुवाकोट पुकार समाचारदाता
भदौ १० गतेको त्यो बिहान। भोटेकोशी उर्लिएर आयो। हेर्दाहेर्दै नदीले बाटो, पुल, घर, उद्योग, मेसिन, गाडी मात्रै बगाएन—धेरै परिवारका सपना, भविष्य र आफन्तसमेत बगाएर लग्यो।
त्यो अकल्पनीय र कहालीलाग्दो विपत्तिले अहिलेसम्म करिब १५ सयको ज्यान लिएको र चार हजारभन्दा बढी अझै हराइरहेको पीडादायी अवस्था छ।
विपत्तिको त्यो घडीमा उद्धार र राहतका लागि सबैभन्दा अगाडि उभिए—नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी।
आफ्नो ज्यानको समेत परवाह नगरी अरूको जीवन बचाउन उनीहरूले गरेको संघर्षलाई शब्दमा बयान गर्न सायद सम्भव छैन।
तर, यही विपत्तिको बीचमा केही यस्ता नागरिक पनि देखिए, जसले आफ्नो करोडौँको धनसम्पत्ति गुमाउँदा पनि मानवीय कर्तव्यबाट आफूलाई एक इन्च पनि विचलित हुन दिएनन्ती मध्ये एक हुन्—नुवाकोट, किस्पाङका सिंहराज लामा।जहाँ थिए किस्पाङ्का पूर्व अध्यक्ष छत्र लामासहित अन्य एक दर्जन किस्पाङबासी,उनीहरुले न त सामाजिक सञ्चालमा प्रचार गरे न त टिकटकमा केबल उद्वारमा मात्रै तल्लिन भए ।
निर्माण व्यवसायी तथा क्रसर उद्योगी ,नेपाल तरुणदल नुवाकोटका अध्यक्ष लामाको भोटेकोशी बाढीमा करोडौँको सम्पत्ति गुम्यो। उनको क्रसर उद्योग, त्यहाँ रहेका मेसिन, गाडी तथा अन्य भौतिक संरचना बाढीले एकैछिनमा निलिदियो।उनको सम्पत्तिको क्षतिको मूल्यांकन कति भयो होला भन्ने जिज्ञासा राख्दा सुरुमा उनले मूल्यांकन गर्न खासै चासो देखाएनन्।
कारण सरल थियो—“ज्यान बच्यो, सम्पत्ति त अब फर्किने होइन। तर हाम्रो आग्रहपछि उनले सुनाए—क्षति करिब १२ देखि १३ करोड रुपैयाँ बराबरको भएको अनुमान छ।
तर, आफ्नो करोडौँको सम्पत्ति बाढीले बगाइरहेको बेला पनि सिंहराजको ध्यान आफ्नो उद्योगतर्फ थिएन। उनको आँखा अरू नै केही खोजिरहेको थियो—मानिसको जीवन।
भदौ १० देखि लगातार उद्धारमा
भदौ १० गते बिहान करिब ९ बजे भोटेकोशीको बाढीले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको क्षेत्रमा ठूलो क्षति पुर्यायो घटना लगत्तै अवस्था अन्धाधुन्ध बन्यो। बाटो थिएन। उद्धारका लागि सहज वातावरण थिएन। आयोजनाका कर्मचारीको अवस्थासमेत यकिन थिएन।लामा भने दिउँसो १२ बजेदेखि नै उद्धारस्थलमा पुगे त्यसपछि उनी लगातार करिब १० दिन त्यही क्षेत्रमा खटिए।
उनले नुवाकोट पुकारसँग भने— “भदौ १० गते ९ बजे बाढीले लग्यो। म १२ बजेदेखि त्यहाँ थिएँ। हिजोसम्म दुई जनाको जीवित उद्धार नहुँदासम्म त्यहीँ रहेँ र त्यसपछि मात्रै बेलुका काठमाडौं फर्किएँ।”
उनका लागि त्यो १० दिन केवल उद्धारमा बितेको समय थिएन।
त्यो आफ्नै जीवनको सबैभन्दा कठिन परीक्षा थियो। एकातिर आफ्नै करोडौँको सम्पत्ति बाढीले बगाएको पीडा थियो। अर्कोतिर बाढीले पुर्याएको विनाशबीच मानिस जीवितै छन् कि छैनन् भन्ने चिन्ता ,उनले दोस्रो बाटो रोजे—मानिस खोज्ने।
बाढीले त्रिशूली–३ ‘ए’ क्षेत्रमा ठूलो क्षति पुर्याएपछि तत्काल उद्धारका लागि आवश्यक साधन–स्रोतको अभाव थियो। लामासँगै रहेका साथीहरूको डोजर तथा अन्य सामग्री पनि त्यही क्षेत्रमा थिए।उद्धारका लागि समय कुर्ने अवस्था थिएन। उनले ती सामग्रीमा लगाइएको ताला फुटाएर उद्धारमा प्रयोग गरे।
कानुनी प्रक्रिया, आफ्नो सम्पत्ति वा क्षतिको हिसाबभन्दा माथि उठेर उनले त्यतिबेला एउटा कुरा मात्र देखे—कसैको ज्यान बचाउन सकिन्छ कि सकिँदैन।
“त्यो अवस्थामा ताला खोल्ने कि नखोल्ने भनेर सोच्ने समय थिएन। मान्छे बचाउन सकिन्छ भने जे गर्नुपर्छ, त्यही गर्नुपर्छ भन्ने लाग्यो,” उनको भनाइको भाव थियो उनको यही सक्रियताले उद्धार कार्यमा ठूलो सहयोग पुगेको प्रत्यक्षदर्शी बताउँछ । एक स्थानीयले नुवाकोट पुकारसँग भने “आफ्नो करोडौँको सम्पत्ति गुमाएर पनि अरूको जीवन बचाउन उनी जुन रूपमा लागे, त्यो जीवनकै एउटा उदाहरणीय सेवा हो।”
अर्का प्रत्यक्षदर्शीले भने— “उनको साहस र इमानदारी देख्दा अझै समाजमा यस्ता जिउँदा युवा छन् भन्ने महसुस भयो।”
सम्पत्ति गुमेकोमा होइन, मानिस बाँचेकोमा खुसी
सिंहराज लामा विगत १०/१२ वर्षदेखि त्यही क्षेत्रसँग जोडिएका व्यक्ति हुन्त्य हाँका पुराना कर्मचारीसँगको सहकार्य, भौगोलिक अवस्थाको जानकारी र स्थानीय परिस्थितिबारेको अनुभवले पनि उनलाई उद्धारमा सक्रिय हुन सहयोग गर्यो।
तर, उनी आफैं स्वीकार्छन्—उद्धारमा ढिलाइ भयो।
धेरै मानिस, धेरै सुझाव र धेरै समस्याबीच काम गर्नुपर्दा कठिनाइहरू थिए तर अन्ततः दुई जनालाई जीवितै उद्धार गर्न सकिएको क्षण उनका लागि सबैभन्दा ठूलो उपलब्धि बन्यो।
“मैले सम्पत्ति गुमाएँ, त्यो ठूलो क्षति हो। तर मान्छेको ज्यान बचाउन सकियो भने त्यसमा म खुसी छु,” उनको भाव छ।
उनको यो भनाइमा करोडौँको सम्पत्ति गुमाएका एक व्यवसायीको पीडा मात्रै छैन, मानवीयताको गहिरो अर्थ पनि छ।
“नेपाली सेना विपद्का बेला भगवान् रहेछ”
उद्धारका क्रममा नेपाली सेनाले देखाएको समर्पणबाट लामा निकै प्रभावित छन् । नेपाली सेना केवल सुरक्षा निकाय होइन—विपद्को समयमा जीवनको आशा बनेर आउने शक्ति होउनी भन्छन्— “नेपाली सेनाको समर्पणप्रति म नतमस्तक छु। वास्तवमा विपद्का बेला नेपाली सेना भगवान् नै रहेछ भन्ने मैले त्यहाँबाट अनुभव गरेँ।”
भोटेकोशीको त्यो कहालीलाग्दो दिनमा सुरक्षा निकायका हजारौँ हात उद्धारमा थिए। त्यही भीडमा सिंहराजजस्ता नागरिकका हात पनि जोडिए।
बाढीले सम्पत्ति लग्यो, तर एउटा कुरा जित्यो
भोटेकोशीको बाढीले सिंहराज लामाको उद्योग लग्यो।
मेसिन लग्यो। गाडी लग्यो।करोडौँको सम्पत्ति लग्यो। तर, उनको मानवीयता लैजान सकेन।
बरु त्यो विपत्तिले उनको अर्को परिचय स्थापित गरिदियो—व्यवसायी मात्र होइन, संकटमा मानिसको जीवन बचाउन आफ्नो स्वार्थ बिर्सन सक्ने नागरिकका रूपमा।
भदौ १० को बाढीले धेरै कुरा खोस्यो। तर त्यही बाढीको अँध्यारोबीच सिंहराजजस्ता केही मानिसले समाजलाई एउटा उज्यालो सन्देश पनि दिए , सम्पत्ति गुम्नु पीडा हो, तर मानवीयता गुम्नु सबैभन्दा ठूलो क्षति हो।
आज पनि भोटेकोशीका किनारमा बाढीले छोडेको भग्नावशेष छ।
धेरैका घर छैनन्। उद्योग छैनन्। पुल छैनन्। सडक छैनन्।
तर मानिसहरू एकअर्काको साथमा उभिएका छन्त्य ही साथ, त्यही साहस र त्यही मानवीयताले नै अब यो विनाशपछि नयाँ जीवन निर्माण गर्नेछ
उनले सरकारलाई तत्काल राहतसँगै अस्थायी बासस्थानको व्यवस्था र दीर्घकालीन पुनर्निर्माणको काम अघि बढाउन ढिलाइ गर्न नहुने सुझाव दिएका छन्।
उनका अनुसार विपत्तिपछि राहत अत्यावश्यक छ, तर त्यसपछि प्रभावित परिवारलाई सुरक्षित बसोबास, रोजगारी र पूर्वाधारसँग जोडेर पुनःस्थापित गर्ने जिम्मेवारी राज्यको हो।
भोटेकोशीले बगाएको सम्पत्ति तत्काल फर्किँदैन। हराएका आफन्त तत्काल फर्किंदैनन्। तर बाँचेकाहरूको जीवन फेरि उठाउन सकिन्छ।
र त्यसका लागि सरकारको जिम्मेवारीसँगै सिंहराज लामाजस्ता नागरिकको साहस, समर्पण र मानवीय भावना पनि समाजका लागि प्रेरणा बन्न सक्छ। भदौ १० ले एउटा कहालीलाग्दो इतिहास लेख्यो। तर त्यसै इतिहासको पानामा सिंहराज लामाजस्ता मानिसहरूले मानवताको एउटा सुन्दर अध्याय पनि थपे।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्