
काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकहरूले उठाएका माग सम्बाेधन गर्न कांग्रेसले निर्णायक पहल गर्ने भन्दै शिक्षकहरूलाई आन्दोलन फिर्ता गरेर विद्यालय खाेल्न आग्रह गरेका छन् ।महामन्त्री थापाले आज आफ्नो फेसबुकपेज मार्फत शिक्षकहरुलाई यस्तो आग्रह गरेका हुन ।महामन्त्री थापाले भनेका छन्
विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौँ
विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौँ । आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सवैका जायज माग र चिन्ताको संवोधन गर्ने कुरामा प्रतिबद्ध छौ।
अतः सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।
सरकारले शिक्षक महासंघका प्रतिनिधिहरुसँग आज बिहान वार्ता गरेपनि निश्कर्ष निस्कन सकेकाे छैन ।शिक्षकहरूले विभिन्न १८ बुँदे माग राखेर हिजाेबाट आन्दोलन गरिरहेका छन् ।महासंघको नेतृत्वमा करिब २० हजार शिक्षक आन्दोलनका लागि राजधानी आएका छन् ।उनीहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिएका छन् ।सरकारले पुनः आजनै दाेस्राेचरणमा वार्ता गर्ने तयारी गरेकाे छ ।