
नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक
काठमाडौं, नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा शिक्षकहरुको आन्दोलनका विषयमा छलफल भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुले राखेको जिज्ञासामा सरकारका तर्फबाट उपसभापति तथा कार्यवाहक प्रधानमन्त्री एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासङ्घको वास्तविक माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । कांग्रेसको बैठकपछि जारी गरिएको विज्ञप्तिमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काले शिक्षक महासङ्घले गरेको आन्दोलनको ब्रिफिङ गर्नुभएको र शिक्षण र शिक्षक पेसालाई मर्यादित, प्रतिष्ठित बनाउन शिक्षकका वास्तविक माग वार्ताद्वारा पुरा गर्ने प्रतिबद्धता समेत बैठकमा व्यक्त गर्नुभएको उल्लेख गरिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले बैठकको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। आजको बैठकमा बिमलेन्द्र निधि, कल्याण गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित सदस्यहरू उद्धव थापा कृष्णप्रसाद यादव इन्द्रबहादुर बानियाँ शुक्रराज शर्मा , अमरसिंह पुन ललितजंग शाही र वीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नुभएको थियो । बैठक भोलि शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ।