जानकी महिला सचेतना समाजद्वारा नुवाकोटका बाढीपीडितलाई राहत वितरण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २४, बुधबार १३:५२

नुवाकोट । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नुवाकोटमा राहत सामग्री वितरण गरिएको छ। जनकपुरधाम, धनुषास्थित जनकी महिला सचेतना समाजको पहल तथा सहजीकरणमा नुवाकोट पुगेर बाढी प्रभावित परिवारलाई आवश्यक घरायसी सामग्री वितरण गरिएको हो।

बाढीपीडित परिवारलाई प्रेसर कुकर, कराही, डाडु–पन्यु, स्टिलका थाल, कचौरा, गिलास, डेक्ची, जग, बाल्टीलगायतका घरायसी सामग्री उपलब्ध गराइएको छ। राहत वितरणका क्रममा प्रभावित परिवारको अवस्था तथा उनीहरूले भोगिरहेको समस्याबारे समेत जानकारी लिइएको थियो।

महिला संघकी केन्द्रीय सदस्य सुशीला शाहको नेतृत्वमा संकलित राहत सामाग्री संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसी तथा महिला संघकी केन्द्रीय सदस्य हिरा पाण्डे लामाको सहजीकरणमा विदुर नगरपालिका–५, १० र ११ का बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको हो। कार्यक्रममा विदुर नगरपालिका–१० का वडा अध्यक्ष गणेश नेपाल लगायत जनप्रतिनिधिको सहभागिता रहेको थियो।


गत भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीले रसुवा र नुवाकोटका ठूलो संख्यामा नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन्। बाढीका कारण घर, व्यवसाय, सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ।

बाढीपछि प्रभावित नागरिकको दैनिक जीवन सहज बनाउन विभिन्न संघसंस्था, स्थानीय तह तथा सहयोगी निकायले राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएका छन्। जानकी महिला सचेतना समाजले पनि प्रभावित परिवारलाई आवश्यक घरायसी सामग्री उपलब्ध गराउँदै विपद्को समयमा मानवीय सहयोगमा हातेमालो गरेको हो।


यस्ता सहयोगले बाढीका कारण घरायसी सामग्री गुमाएका तथा अभाव झेलिरहेका परिवारलाई दैनिक जीवनयापनमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *