
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण तथा शरिर बन्धक मुद्दाका फरार प्रतिवादी लाई १३ वर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट साबिक चारघरे गाविस वडा नं ९ हाल विदुर नगरपालिका वडा नं १२का ३९ वर्षका लुप्पा भन्ने सुब्बा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
घटनाको बिवरण अनुसार २०६७ जेठ ४ गते, राती समयमा वी.पि. मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा कार्यरत कार्यकारी निर्देशक डाक्टर वर्ष ४८ को भक्तमान श्रेष्ठलाई चितवन अस्पतालबाट हिमचुली बिकास वैक नजिकको मोडमा रहेको डा. क्वाटर तर्फ जाने क्रममा प्रतिवादीहरु भिमसेन पण्डित, रोहित पलिवाल, बद्रि प्रसाद ढुंगाना, सुनिल श्रेष्ठ, नविन क्षेत्री, लुप्पा तामाङ भन्ने सुब्बा तामाङ र गौतम योञ्जन सहितले अपहरण गरी नुवाकोट, काठमाण्डौ र धादिङको बिभिन्न स्थानमा राखी अपहरण वापत फिरौती माग गरेको र प्रतिवादीहरु मध्ये नेपाल तथा भारतमा बराबर बसोबास गर्ने वर्ष अन्दाजी ३० को रोहित पलिवाल अग्रवालले भारतबाट २०६७ जेठ ५ गते राती पिडित परिवारलाई ईन्टरनेट तथा तथा प्रविधिको उपयोग गरी फिरौतीको लागि साढे तीन किलो सुन बार्गेनिङ गरेकोमा मिति २०७६।०२।१९ गते अपहरितबाट माग भए बमोजिमको फिरौती वापतको सुन भारतको कानपुर आसपास इलाकामा प्राप्त गरे पश्चात मिति २२ गते बिहान २.३० बजेको समयमा धादिङ स्थित मझिमटारबाट अपहरणकारीहरुले अपहरित डाक्टर भक्तमान श्रेष्ठलाई अपहरणमुक्त गरि दिएका थिए ।
अपहरणमा संलग्न फरार प्रतिवादीहरु मध्ये लुप्पा तामाङ भन्ने सुब्बा तामाङलाई सम्मानित चितवन जिल्ला अदालतको लगत नम्वर १०४३ मिति २०६९।०२।२४ गतेको फैसलाले अपहरण तथा शरिर बन्धक मुद्दामा १३ वर्ष कैद र रु। १,००,०००।– एक लाख जरिवाना तोकि फरार रहेका जिल्ला नुवाकोट साबिक चारघरे गौरीवेशी हाल बिदुर १२ बस्ने हरि बहादुर तामाङको छोरा वर्ष ३९ को लुप्पा भन्ने सुब्बा तामाङ खोततलास गर्दै जाने क्रममा मिति २०८०।०६।०६ गते बिहान ११ बजेको समयमा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं १२ स्थित आफन्तको घरमा लुकीछिपी बसि रहेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित नुवाकोट जिल्ला अदालतमा पेश गरिएकोमा सजाय भुक्तानको लागी कारागार चलान गरिएको छ ।