
काठमाडौं । (एजेन्सी) एक साता लामो चीन भ्रमणमा रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार चिनियाँ समकक्षी ली छियाङसँग द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्दै हुहुहुन्छ । एजेन्सीहरुले दिएको समाचार अनुसार दिवाभोजसहित करिब दुई घन्टा उनीहरूबीच छलफलको समय तय भएको छ । चिनियाँ समयअनुसार पौने ११ बजे वार्ता सुरु हुनेछ भने प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली दिउँसो १ बजेसम्म सँगै कार्यतालिका रहेको छ ।
परराष्ट्र स्रोतका अनुसार सोमबार बिहान सुरुमा चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लिइजीसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ, त्यसपछि गार्ड अफ अनरसहित दुई प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । परराष्ट्र स्रोतका अनुसार वार्तापछि आधा दर्जन समझदारीपत्र आदानप्रदान हुनेछन् ।
डिजिटल इकोनोमी, क्लिन ग्रिन इनर्जी, टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययन, कृषिलगायत विषयमा समझदारीपत्र आदनप्रदान हुनेछ । तर, बिआरआई कार्यान्वयनका विषयलाई भने एजेण्डामा समावेश नगरिएको बुझिएको छ । यसले नेपाललाई गर्ने अन्य सहयोगका कार्यक्रमहरु पनि प्रभावित हुने बताइन्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शनिबार भएको भेटवार्तापछि नेपाल–चीनबीच विश्वासको वातावरण तयार भएको दावी गर्नुभएको छ। बेइजिङमा आइतबार नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग पारस्परिक हितका साथै नेपाललाई चिनियाँ सहयोगको दायरा बढाउने विषयमा खुलेरै छलफल भएको बताउनु भएको थियो ।