त्रिशूली सभ्यता : भग्नावशेषबाट फेरि कसरी बिउँझन्छ ?

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र २७, शनिबार १३:५०

भाद्र १० गतेको त्रिशूली नदी बेसिनको महाविपत्तिलाई इन्टेक डिलबाट अनुभूति गर्दा मेरो ६० वर्षे जीवनकै सबैभन्दा त्रासदीपूर्ण र निराशाजनक दिनका रूपमा रह्यो। परिवारकै सदस्य वृद्ध दिदीदेखि चिनेजानेका साथीभाइ, नातागोता तथा राजनीतिक, शैक्षिक, सामाजिक र व्यावसायिक सिलसिलामा नजिकिएका नाम, थर र वतन खरर याद आउने सहृदयी महानुभावहरूको जीवन समाप्त भएको पीडा बिर्सन सकिने अवस्था छैन। प्राकृतिक चपेटामा परी जलसमाधि लिनुहुने सबैप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु।


वेत्रावती, त्रिशूली र देविघाट पश्चिम–१ नुवाकोटको चिनारी, सभ्यता र संस्कृति त छँदै थियो, आधुनिक बजार र मानव बस्ती विकासको जग पनि यही क्षेत्र थियो। तर आज यसो उभिएर हेर्दा भग्नावशेषसमेत देखिँदैन। हिजोको जीवन्त त्रिशूली सभ्यता आज कहाँ पुग्यो ? अब यो सभ्यता कसरी बिउँझन्छ, कसरी उठ्छ र कसले उठाउँछ ? यसको तत्काल जवाफ पाउन महामुस्कि
राजधानी नजिकैबाट विश्वको नम्बर एक अर्थतन्त्र चीनसँगको सांस्कृतिक, व्यापारिक र कूटनीतिक सेतु नै नष्ट–ध्वस्त भएको छ। यसको पुनर्स्थापना कहिले हुन्छ ? फेरि वेत्रावती, स्याप्रुबेँसी, रसुवागढी हुँदै केरुङलाई कसरी जोड्ने ? यी प्रश्न अहिले त्रिशूली पारीका बासिन्दाको मात्र होइन, समग्र देशको चासो र चिन्ताको विषय बन्नुपर्छ।


भाद्र २२ देखि २६ गतेसम्मको विदुर बसाइँका क्रममा चिनियाँ र अष्ट्रेलियन राजदूतको महाविपत्ति क्षेत्रको भ्रमण प्रत्यक्ष हेर्ने र सुन्ने अवसर मिल्यो। चिनियाँ राजदूतको भ्रमण स्फूर्तिलो देखिन्थ्यो, तर आफ्नो मन भने गरुङ्गो र हतास थियो। आँखैअगाडि आफ्नो ठाउँको उजाड अवस्था देख्दा मनमा अनेक प्रश्न उब्जिरहे।


ठ्याक्कै त्रिशूली बजार–ढुंगे आसपासमा त्रिशूली नदीमा तत्काल गाडी ओहोरदोहोर गर्न मिल्ने अस्थायी पुल र वेत्रावतीसम्म सडक बन्नु–बनाउनु अत्यावश्यक छ। विदुरमा बसेर चिया चौतारी र सदरमुकाम केन्द्रित गतिविधि, हाउभाउ र भावभङ्गिमा हेर्दा त्रिशूली बजारपारिको क्षेत्र कतै बिर्सिन्छ कि भनेर झस्किनुपर्ने अवस्था पो हो कि भन्ने डर मनमा रहिरह्यो।


यो केवल सडक वा पुलको कुरा होइन। यो त मानिसको जीवन, आवागमन, व्यापार, शिक्षा, स्वास्थ्य र भविष्यसँग जोडिएको प्रश्न हो। त्रिशूली नदीको वारिपारि फेरि सम्बन्ध जोड्न नसकेसम्म यहाँको सामाजिक र आर्थिक जीवन सामान्य अवस्थामा फर्कन कठिन हुनेछ।


त्रिशूली नदी बेसिनका झण्डै ४०० मेगावाट उत्पादित जलविद्युत् आयोजना र ३०० मेगावाट निर्माणाधीन जलविद्युत् आयोजनाले समेत जलसमाधि लिएका छन्। त्रिशूली, देविघाटलगायतका जलविद्युत् आयोजना पुनर्निर्माण र पुनर्स्थापना कहिले हुन्छ ?

पहिला त्रिशूली जलविद्युत् आयोजना उठ्नैपर्छ, उठाउनैपर्छ।
किनकि त्रिशूलीको विद्युत् केवल मेगावाटको हिसाब होइन। यससँग हजारौँ मानिसको रोजगारी, लगानी, स्थानीय अर्थतन्त्र र देशको ऊर्जा भविष्य जोडिएको छ। त्यसैले पुनर्निर्माणको प्राथमिकतामा यी आयोजना पनि पर्नुपर्छ।


त्यस्तै, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको भग्नावशेषसमेत नभेटिने अवस्था छ। त्रिशूली उपत्यकाको शैक्षिक उन्नयनको प्रस्थानविन्दु हो—त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय। आज त्यही विद्यालय आफ्नो जग खोजिरहेको छ, फेरि उभिने र ठडिने आधार खोजिरहेको छ।


यो विद्यालयको यति भाग यता, यति भाग उता, उति भाग कता भनेर सामाजिक सञ्जालमा हिसाब पोखिएको देख्दा कता–कता घोचे जस्तो, चिमोटे जस्तो अनुभूति हुँदो रहेछ।


त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय सिङ्गो रहनुपर्छ। त्रिशूलीको पहिचानसहित त्रिशूली नदीको जता तर्फ थियो, त्यतै तर्फ नै, नदीदेखि लगभग एक–दुई किलोमिटर टाढासम्म उपयुक्त स्थानमा ठडिनै पर्छ।


यो विद्यालय एउटा भवन मात्र होइन। यो त्रिशूली उपत्यकाको शैक्षिक इतिहास, पुस्तौँको स्मृति र पहिचान हो। त्यसैले यसको पुनर्निर्माण गर्दा केवल भौतिक संरचना बनाउने विषयका रूपमा होइन, त्रिशूलीको शैक्षिक विरासत जोगाउने अभियानका रूपमा लिनुपर्छ।


आज त्रिशूली पारी उभिएर हेर्दा बाढीले बगाएको घर, बजार, सडक, पुल, विद्यालय र जलविद्युत् संरचनामात्र देखिँदैनन्। त्यहाँ मानिसका सपना, सम्झना, सम्बन्ध र एउटा सभ्यताको ठूलो हिस्सा बगेको देखिन्छ।


तर विपत्तिले सबै कुरा समाप्त पार्छ भन्ने होइन। पुनर्निर्माणको दृढ इच्छाशक्ति, राज्यको स्पष्ट योजना, स्थानीयको सहभागिता र सबै पक्षको साझा प्रतिबद्धता हुने हो भने भग्नावशेषबाट पनि नयाँ त्रिशूली उठ्न सक्छ।


प्रश्न अब एउटै छ—त्रिशूली सभ्यता कसरी बिउँझन्छ ? कसले उठाउँछ ? जवाफ खोज्ने बेला यही हो। र, त्रिशूलीलाई फेरि उठाउने जिम्मेवारीबाट अब कोही पनि पन्छिनु हुँदैन।

(लेखक : अधिकारी नुवाकोट बागटार निवासी हुन् ।उनी प्राध्यापन तथा न्यायिक क्षेत्रमा अधिवक्ताका रुपमा कार्यरत छन् )

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *