नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, बाढीपछि जारी खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन, अस्थायी आवासको व्यवस्थापन तथा पुनःउत्थानका गतिविधिबारे जानकारी लिन नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा नुवाकोटको विदुर नगरपालिका पुग्नुभएको छ।
बाढी आएको १९औँ दिनमा उपसभापति शर्मा नेतृत्वको टोलीले विदुर नगरपालिकाका विभिन्न प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी बाढीबाट भएको क्षति र प्रभावित नागरिकको पछिल्लो अवस्थाबारे जानकारी लिएको हो। टोलीले प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्दै उनीहरूले भोगिरहेका समस्या, तत्काल आवश्यक राहत तथा आगामी पुनःस्थापनाका विषयमा जानकारीसमेत लिएको थियो।
सो क्रममा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले बाढीपछि नगरपालिकाले सञ्चालन गरिरहेका खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर व्यवस्थापन, अस्थायी आवासको प्रबन्ध तथा पुनःउत्थानका कामबारे उपसभापति शर्मासहितको टोलीलाई जानकारी गराउनुभयो।
अवलोकन तथा जानकारी लिन कांग्रेस केन्द्रीय उपसभापति शर्मासँगै केन्द्रीय सदस्य डा. केदारनरसिंह केसी, नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेश महत, क्षेत्र नं. २ का क्षेत्रीय सभापति जगतबहादुर तामाङ लगायत सहभागी हुनुहुन्थ्यो।
टोलीले बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था, क्षतिको विवरण र प्रभावित नागरिकको आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएर पुनःस्थापना तथा पुनःउत्थानका लागि आवश्यक पहल गर्ने विषयमा समेत चासो राखेको थियो।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्