
काठमाडौं । नेकपा एमाले भित्रको आन्तरिक विवाद चरम उत्कर्षमा पुगेको छ । उम्मेदवार र पार्टी नेताहरुको व्यवस्थापन सहितको समस्याका कारण आज हुने भनिएको निर्वाचन भोलिका लागि सारिएको छ । पार्टी अध्यक्षसहितका पदाधिकारीसहित २४० प्रदेश समितिका लागि पाँचसय भन्दा बढिले उम्मेदवारी दिएका छन् । अध्यक्षका १ का लागि ४ जनाको उम्मेदवारी परेको छ । पाँच जनामध्ये नुवाकोटका नेता तथा वर्तमान प्रदेश कमिटि अध्यक्ष केशव पाण्डेको उम्मेदवारी फिर्ता भएको छ । अन्य चार जनाले उम्मेदवारी कायम राखेका छन् ।
अध्यक्षमा मकवानपुरका कृष्णप्रसाद दाहाल, काठमाडौंका सानुकुमार श्रेष्ठ तथा रामेछापका कैलाश ढुंगेल र केशरबहादुर बुढाथोकीले अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन् । पार्टी नेताहरूले अध्यक्षमा ढुंगेलका नाममा सहमतिको प्रयास अझै जारी राखेका छन् । ढुंगेललाई अध्यक्ष बनाउनका लागि पाण्डेको उम्मेदवारी फिर्ता गराइएको छ । उपाध्यक्षमा पनि पाँचैजनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र डा। रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।उपसचिव खुला र महिलामा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालले उम्मेदवारी दिएका छन् । गंगादेवी, भक्तकुमारी र रिता महिलातर्फ हुन् ।
बागमती प्रदेश कमिटीका इन्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्षमण्डलले सहमतिको प्रयास जारी राखेको छ । तर नेताहरुले उम्मेदवारलाई जानकारी नै नदिई उम्मेदवारी फिर्ता भएको भन्दै नेताहरुको लिष्टलाई धमाधम सदर गर्न थालेपछि प्रतिनिधिहरुबीच तिब्र असन्तुष्टि व्यक्त हुन थालेको छ ।
निर्वाचनका विषयमा समेत अध्यक्ष मण्डलले समावेशी बनाउन नसक्दा निर्वाचनको तालिका थप लम्बिएको छ । भोलि पनि निर्वाचन हुन्छ भन्ने ग्यारेन्टी नभएको भन्दै प्रतिनिधिहरुले असन्तुष्टि पोखिरहेको देखिन्छ । नेतृत्वले सकेसम्म प्रतिनिधिहरुको संख्या घटाउने र थकाउने अभ्यास गरिरहेको गुनासो आइरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले टिम बनाएर निर्वाचन लडे उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएका कारण पनि स्पष्ट रुपमा टिम बनेको छैन । तर नेताहरुको लबिड. भने निकै चर्को रुपमा चलिरहेको छ । जसका कारण निर्वाचन गर्ने भनिएको भएपनि निर्वाचन मण्डल आफै सकेसम्म निर्वाचन नगराउने पक्षमा पुगेका कारण एमालेको बागमती प्रदेश अधिवेशन थप विवादित बनिरहेको छ ।