
काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा भएको मतदानमा एक हजार १३१ मत खसेको छ । एक हजार १७२ मतदाता थिए । अहिले केही समयपछिबाट मतगणना सुरु गरिने भएकाले मध्यरातसम्ममा नतिजा आउने बताइएको छ ।
बागमती प्रदेशको अध्यक्षका लागि कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा भएको छ । दुवै उम्मेदवारले बाँकी चार पदाधिकारीको प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेका छन् । २ सय ४० जनाको कार्यसमितिका लागि झण्डै पाँच सयले प्रतिस्पर्धा गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यान बनाएर निर्वाचन नलड्न निर्देशन दिएपनि नेताहरुले स्पष्ट रुपमा आफ्नो प्यानलसहितका उम्मेदवारहरुको लिष्ट मतदातालाई वितरण गरेका थिए ।
पाँच दिनमा बल्ल आज अधिवेशन सकिदै छ । असोज ८ गतेदेखि सुरु भएको अधिवेशनको मिति ९ गतेसम्म भएपनि नेताहरुबीचको विवादका कारण अधिवेशन लम्बिएको हो । प्रदेश अध्यक्ष कार्यकारी भूमिकामा रहने भएकाले यसप्रति नेताहरुको चासो बढि देखिएको छ ।