
काठमाडौं । मुलुकमा आर्थिक मन्दीले अर्थतन्त्र चौपट हुन थालेपछि लगानीको वातावरण निर्माण गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार सहित सबै सरोकारवालाहरूसंग बृहत आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको छ ।
सोमबार बागलुङको ढोरपाटनमा बसेको कार्यकारिणी समितिको बैठकले अर्थतन्त्रका समस्याहरुको ठोस समाधानका लागि सबै सरोकारवालाहरूलाई एउटै ठाउँमा राखेर बहस गर्ने निर्णय गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै, निजी क्षेत्रको तर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन नेपाल सरकारसंग सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।
देशका ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ । पछिल्लो केही समयदेखि मुलुक आर्थिक मन्दीको चपेटामा परेको छ । अर्थतन्त्र सुधारकालागि सरकारी प्रयास पनि कमजोर बन्दै जान थालेपछि व्यवसायीहरुको सबैभन्दा ठुलो छाता संस्था महासंघले अफ्नै अगुवाईमा सम्मेलनको तयारी गर्नु अर्थतन्त्रका लागि सकारात्मक सन्देश दिने व्यवसायीहरुले बताएका छन् ।