
विदुर । नेपालीहरुको महत्वपूर्ण चाडबाडका बेला सार्वजनिक सवारीसाधनमा हुने भिडभाड र भाडा दरलाई पारदर्शी बनाउने उदेश्यले चाडपर्वलाई लक्षित गरी उपत्यका लगायत अन्य जिल्लाबाट नुवाकोट जिल्लामा प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँच सुरु भएको छ । जिल्ला प्रहरी नुवाकोट मातहत रहेको प्रहरी कार्यालयहरु अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङ र अस्थाई प्रहरी पोष्ट कोल्पुटारमा ट्राफिक प्रहरी सहित चेकजाँच सुरु गरिएको छ ।
सवारी साधनको सिट क्षमता, बढी भाडादर, ट्राफिक नियम पालना भए नभएको सम्बन्धि चेकजाँच गरी नियम विपरितका सवारी साधनहरुलाई कानूनी कारवाहीको दायरामा ल्याउनेगरि चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकाटले जनाएको छ । नेपालीहरुको महान पर्व दशैँ नजिकिएसँगै राजधानीबाट आफ्नो जन्मथलो फर्कने क्रम सुरु हुन थालिसकेको छ । अन्य समयको तुलनामा दशैंमा यात्रुहरुको संख्या बढि हुने र त्यसको फाइदा उठाउँदै यात्रुसँग मनलाग्दी भाडा लिने क्रम अवस्थाको अन्त्यका लागि सरकारी संयन्त्रले चेकजाँच थालेको हो ।