बाढीपहिरोपछि नुवाकोटको पर्यटन चलायमान बनाउन होटल व्यवसायीको अपिल : ‘नुवाकोट आउनुहोस्, नुवाकोट घुम्नुहोस्’

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १०, शनिबार २०:१०

नुवाकोट । बाढीपहिरोका कारण नुवाकोट र रसुवाका केही क्षेत्र प्रभावित भए पनि अधिकांश पर्यटकीय तथा आवासीय क्षेत्र सुरक्षित रहेको भन्दै नुवाकोट होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले भ्रमणमा नआत्तिन सर्वसाधारण तथा पर्यटकलाई अपिल गरेको छ।


संघका महासचिव रबिन्द्र चालिसे (आरसी)ले गलत सूचना, अपूर्ण भिडियो तथा सामाजिक सञ्जालमा फैलिने हतोत्साहित बनाउने सामग्रीका कारण नुवाकोट भ्रमणको योजना रद्द नगर्न आग्रह गरेका छन्।


उनले प्रभावित क्षेत्रको वास्तविक अवस्था अवलोकन गर्दै सुरक्षित रहेका पर्यटकीय गन्तव्यमा भ्रमण गर्न र स्थानीय पर्यटन तथा व्यवसायलाई सहयोग गर्न आग्रह गरे। बाढीपहिरोका कारण स्थानीय व्यवसायमा समेत असर परेको भन्दै पर्यटन गतिविधिलाई निरन्तरता दिन सके प्रभावित क्षेत्रको पुनःस्थापनामा समेत सहयोग पुग्ने संघको भनाइ छ।


आगन्तुक तथा पाहुनाको सुरक्षित बसोबास, खानपान र आवश्यक सहयोगका लागि नुवाकोटवासी तथा होटल तथा रेस्टुरेन्ट व्यवसायी प्रतिबद्ध रहेको संघले जनाएको छ।


संघले ‘सुरक्षित स्थानमा पर्यटनलाई निरन्तरता दिऔँ, प्रभावित क्षेत्रलाई सहयोग गरौँ’ भन्ने सन्देशसहित नुवाकोट भ्रमणका लागि आह्वान गरेको छ। ‘नुवाकोट आउनुहोस्, नुवाकोट घुम्नुहोस्’ भन्दै संघले वास्तविक अवस्था बुझेर मात्रै सूचना प्रवाह गर्नसमेत आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *