कांग्रेसको संस्थापनइतर पक्षबाट निर्वाचन समितिलाई क्रियाशील सदस्यताको विवरण हस्तान्तरण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १०, शनिबार २०:३७

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले १५औँ महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यताको विवरण अन्तिम रूप दिएको जनाएको छ। पक्षले शनिबार निर्वाचन समितिलाई ७ लाख ८३ हजार ८३६ जना क्रियाशील सदस्यको विवरण हस्तान्तरण गरेको हो।

काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा डा. शशांक कोइरालाको उपस्थितिमा निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई सदस्यताको विवरण बुझाइएको थियो।


क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार कुल सदस्यतामध्ये ५ लाख ७३ हजार २६९ जना पुराना सदस्यको नवीकरण गरिएको छ भने २ लाख १० हजार ५६७ जना नयाँ सदस्य थपिएका छन्।


यसपटक सदस्यता व्यवस्थापन तथा महाधिवेशन प्रक्रियालाई प्रविधिमैत्री बनाउने प्रयास गरिएको पक्षले जनाएको छ। नयाँ सदस्यता लिन तथा आगामी दिनमा सदस्यता प्रक्रियामा सहभागी हुन अनलाइन प्रणालीसमेत सञ्चालनमा ल्याइएको छ।
पौडेलले विगतका महाधिवेशनमा क्रियाशील सदस्यताको विवादले संगठनात्मक प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै यसपटक विवरण व्यवस्थित रूपमा निर्वाचन समितिलाई बुझाइएको बताए।


निर्वाचन समितिका संयोजक पोखरेलले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्न तयारी अघि बढाइएको जानकारी दिए। उनका अनुसार असोज १५ गतेदेखि देशभरका वडामा अधिवेशन प्रक्रिया सुरु हुनेछ र अधिवेशनका परिणाम तत्काल सार्वजनिक गर्ने व्यवस्था मिलाइनेछ।


वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनको छोटो अवधिमा तयार गरिएको नयाँ वेबसाइटमा साइबर सुरक्षालाई प्राथमिकता दिइएको बताए। हाल नयाँ क्रियाशील सदस्यता प्रक्रियालाई केन्द्रमा राखिएको वेबसाइटलाई आगामी दिनमा थप व्यवस्थित बनाउँदै लैजाने तयारी रहेको जनाइएको छ।

सम्पर्क कार्यालय पत्रकार सम्मेलन गरेर नेता डा.प्रकाशशरण महतले मंसिर तेस्रो साता १५औँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी दिएका छन् । डा.महतले महाधिवेशनको पूर्वतयारीस्वरूप असोज १५ गतेदेखि वडा अधिवेशन शुरु हुने बताए ।

एकताको महाधिवेशनका लागि प्रयास गरे पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले बताएका छन् ।

हालैको व्यापक वर्षाका कारण केही काममा ढिलाइ भए पनि केन्द्रीय कार्यालयका तर्फबाट गर्नुपर्ने तयारीहरू अघि बढिरहेको नेता डा.महतले बताएका छन् ।

सम्भव भएसम्म स्थानीय वकिल, पूर्वशिक्षक तथा निर्वाचन गराएको अनुभव भएका व्यक्तिहरूको सहयोग लिएर अधिवेशन छिटोछरितो रूपमा सम्पन्न गरिने नेता डा.महतले बताएका छन् ।

नवीकरण भएका तथा नयाँ प्राप्त क्रियाशील सदस्यहरूको सूची अनलाइनमार्फत जिल्ला हुँदै वडासम्म पठाइनेछ । छुटेका व्यक्तिहरूले पनि आवश्यक प्रक्रिया पूरा गरी असोज १५ गतेभित्र क्रियाशील सदस्यता प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

नेता डा.महतले भने, ‘असोज १५ गतेबाट वडा अधिवेशन शुरु हुन्छ र केन्द्रीय महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने तयारी छ । हामीले एकताको महाधिवेशनका लागि प्रयास गरेका थियौँ तर, सबै ढोका खुला राखेर प्रयास गर्दा पनि सम्भव नभएपछि छोटो समयमै अधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था आयो । त्यसैले अहिले आपत्कालीन मोडमा तयारी अघि बढाइएको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *