नुवाकोट । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय सभापति पदमा जगदीश कुइँकेलको उम्मेदवारीले क्षेत्रीय कांग्रेसको आन्तरिक राजनीतिमा नयाँ बहस सिर्जना गरेको छ।
लामो समयदेखि केसी परिवारसँग निकट रहेर कांग्रेसको राजनीतिमा सक्रिय रहेका कुइँकेल यसपटक युवा नेताहरूको समर्थनसहित क्षेत्रीय सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन्। उनको उम्मेदवारीलाई क्षेत्र नं. १ मा लामो समयदेखि प्रभावशाली रहँदै आएको पारिवारिक राजनीतिक समीकरणभित्रबाटै आएको चुनौतीका रूपमा हेरिएको छ।
कुइँकेललाई क्षेत्रीय सभापतिको उम्मेदवार बनाउन केसी परिवारबाट सहमति नजुटेपछि असन्तुष्ट बनेको उनीनिकट नेताहरूको दाबी छ। कुइँकेलकाे विपक्षका सुरुमा सरोज केसीलाई अघि सारिएको भए पनि पछिल्लो आन्तरिक विवादपछि उनको स्थानमा सूर्यगढीका युवा नेता कुमार गुरुङलाई उम्मेदवार बनाइएको बताइएको छ।
कांग्रेसभित्रको अर्को महत्वपूर्ण समीकरणका रूपमा डा. प्रकाशशरण महत संस्थापनइतर पक्षमा खुलेपछि रमेश महतको क्षेत्रीय राजनीतिक प्रभावबारे पनि नयाँ बहस सुरु भएको छ। रमेश महत पक्षबाट रामेश्वर थापा क्षेत्रीय सभापतिको उम्मेदवार बनेका छन्।
यसरी क्षेत्र नं. १ मा कुइँकेल, कुमार गुरुङ र रामेश्वर थापालगायतका उम्मेदवारबीचको प्रतिस्पर्धाले नेतृत्व चयनलाई थप रोचक बनाएको छ। विशेषगरी दुई परिवारको प्रभावमा केन्द्रित रहँदै आएको राजनीतिक विरासतलाई चुनौती दिँदै नयाँ पुस्ताका नेताहरू सक्रिय रूपमा अघि बढेको देखिएको छ।
कुइँकेलको पक्षमा क्षेत्र नं. १ का युवा नेताहरू शिव गुणी, कृष्ण मिश्र, सञ्जीव अधिकारीलगायतले समर्थन जनाएको बताइएको छ। युवा नेताहरूको यो सक्रियताले क्षेत्रीय नेतृत्वमा पुस्तान्तरण, संगठन निर्माण र कार्यकर्ताको भूमिकाबारे बहसलाई थप बल दिएको छ।
संघर्षबाट खारिएको राजनीतिक यात्रा
जगदीश कुइँकेल लामो समयदेखि कांग्रेसको संगठन निर्माण, लोकतान्त्रिक अभ्यास र राजनीतिक सक्रियतामा रहँदै आएका नेता हुन्। विद्यालय जीवनदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय उनी क्षेत्रीय तथा जिल्ला तहका विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनात्मक अनुभव हासिल गरेका छन्।
२०६२/६३ को जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका कुइँकेलले लोकतन्त्र पुनःस्थापनाको आन्दोलनका क्रममा जेल जीवनसमेत बिताएका थिए।
उनले आफ्नो राजनीतिक यात्रामा पारदर्शिता, संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान, युवा सहभागिता र जनउत्तरदायी राजनीतिक संस्कारलाई प्राथमिकतामा राख्दै आएको बताउँदै आएका छन्।
१४औँ महाधिवेशनमा क्षेत्रीय सचिवमा निर्वाचित भएका कुइँकेल यसपटक क्षेत्रीय सभापतिको दौडमा छन्। उनको उम्मेदवारीसँगै नुवाकोट कांग्रेसमा नेतृत्व परिवर्तन, पुस्तान्तरण, संगठनको पुनर्संरचना र कार्यकर्ताको भूमिकाबारे बहस तीव्र बनेको छ।
नुवाकोट कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। जिल्ला निर्वाचन समितिले मौसमका कारण स्थगित क्षेत्रीय अधिवेशन असोज १४ गते गर्ने नयाँ कार्यतालिका सार्वजनिक गरेको थियो।
अब क्षेत्र नं. २ का क्षेत्रीय प्रतिनिधिहरूले उम्मेदवारहरूको राजनीतिक यात्रा, संगठनात्मक अनुभव, विचार र आगामी कार्ययोजनाका आधारमा नेतृत्व चयन गर्नेछन्। कुइँकेलको उम्मेदवारीले भने परम्परागत राजनीतिक समीकरणभित्र नयाँ पुस्ताको दाबीलाई थप चर्चामा ल्याएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्