
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले पञ्चकन्याँ गाउँपालिकामा महिलाको हत्यामा संलग्नलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले आज पत्रकार सम्मेलनको आयोजना गर्दै हत्याँमा संलग्न साविक पञ्चकन्या गाविस वडा नं. ०७ हाल पञ्चकन्या गाउँपालिका वडा नं. ०३ बस्ने बर्ष २७ वर्षीय श्यामबहादुर तामाङलाई पक्राउ गरि आज सार्वजनिक गरिएको हो । उनलाई असोज २५ गते अपराह्रन ३ बजे पक्राउ गरिएको थियो । पक्राउ परेका तामाङको साथबाट मृतकले लगाएको कानको सुनको मुन्द्रा थान–२ हत्या गर्दा प्रयोग गरेको रगत जस्तो रातो पदार्थ लागेको खुकुरी थान र रगत जस्तो रातो पदार्थ लागेको प्रतिवादी श्याम बहादुर तामाङले लगाएको सट बरामद गरेको जनाइएको छ ।
प्रहरीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको घटना विवरण अनुसार । असोज २३ गते नजिकै जंगलमा कोदालो तथा खुर्पाको बिड खोजी फर्कने क्रममा अन्दाजी बेलुका ८ बजेको समयमा एकान्तमा रहेको विगत १० बर्षदेखी एक्लै बसोवास गर्दै आएको मृतक नुर कुमारी थापाको घरमा गई दशै मान्न पैसा सापटी मागेकोमा मृतकले दिन ईन्कार गरेपछी निज एक्लै भएको मौका छोपी आफूसंगै साथमा लिई आएको खुकुरीले टाँउकोमा प्रहार गरी घटनास्थलमै मारी फरार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
असोज २५ गते बिहान बिहान ८.५४ बजेको समयमा तिनघरे पुछारटोल अर्चले बस्ने वर्ष ७१ की नुर कुमारी थापाको आफ्नै घरमा बिभत्स हत्या भई रक्तामय अवस्थामा निजको लाश रहेको भनि प्रहरीलाई सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी टोली खटि गई सुक्ष्म अनुसन्धानबाट र बिशेष सूचनाको आधारमा उल्लेखित अभियुक्त पञ्चकन्या गा.पा. वडा नं. ०३ कात्तिके बस्ने अभियुक्त श्याम बहादुर तामाङलाई निजको घरबाटै पक्राउ गर्न सफल थियो । प्रहरीले उक्त घटना अनुसन्धानको लागि केनाइन महाशाखाबाट तालिम प्राप्त कुकुरको समेत सहयोग लिईएको जनाएको छ । अभियुक्तलाई जिल्ला अदालत नुवाकोटमा पेश गरि अनुसन्धानको लागि पन्ध्र दिनको म्याद लिई अनुसन्धान कार्य जारी रहेका जनाइएको छ ।