
विराटनगर, असोज २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार कोहीमा माओवादी संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउन असफल भएको भन्दै नेपाली काङ्ग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिनुभएको छ ।
पार्टीको माथिल्लो तहबाटै सक्रियता देखाउँदा समेत काङ्ग्रेसबाटै विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि थापाले दलको नेताबाट राजीनामा दिनुभएको हो । थापाले माओवादी संसदीय दलका नेता इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन नसकेको कारण नैतिकताका आधारमा राजीनामा दिएको जनाउनु भएको छ ।
शनिबार पत्रकार सम्मेलन गर्दै थापाले नैतिकताका आधारमा राजीनामा दिएको बताउनु भयो । कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको उहाँको भनाई छ ।
‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घटनाक्रमले गर्दा नैतिक रुपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरी आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश ससदीय दलको नेताको पदबाट राजीनामा दिएको छु,’ थापाले भन्नुभयो, ‘दलको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहनेछु ।’
कोशीमा दुई दुई पटक असंबैधानिक रुपमा मुख्यमन्त्री बन्नुभएका थापा दुबै पटक सर्वोच्च अदालतको आदेशमा पदमुक्त हुनुभएको थियो । उहाँले दुई पटक मुख्यमन्त्री बन्दा पनि आफूले त्यसलाई जोगाउन नसकेको स्वीकार गर्नुभयो । अदालतले पदमुक्त गरेपछि आफूले त्यतिबेलै राजीनामा गर्नुपर्ने विचार गरे पनि विभिन्न कारणले ढिलो भएको प्रष्टिकरण पनि उहाँको थियो ।