
काठमाडौं । काठमाडौंबाट नुवाकोटको छहरे जोड्ने टोखा – छहरे सुरुङमार्ग अघि बढउने विषयमा नेपाल सरकार अर्थमन्त्रालय र चीन अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीबीच सम्झौता भएको छ । सो सम्झौता अनुसार सुरुङमार्ग निर्माण चीन सरकारको सहयोगमा निर्माण हुनेछ भने आयोजनाको डीपीआर र वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन इआईए अध्ययन नेपालले गर्नेछ । वातावरणीय प्रभावका विषयमा वन मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलार्ई त्यसको कुनै नकारात्मक प्रभाव नहुने व्यहोराको पत्र पठाइसकेको छ । जुन पत्रअनुसार अर्थमन्त्राल र चीन अन्तर्राष्ट्रिय विकास सहयोगबीच काम अघि बढाउने विषयमा सहमति भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा प्रतिबद्धता जनाएको काठमाडौं टोखा – छहरे नवाकोटको सदरमुकाम विदुर हुँदै बेत्रावती र स्याफ्रुवेंसीसम्म सुरुङसहितको सडक निर्माण कार्य अगाडि बढाउन चालु आर्थिक वर्षमा सवा १ अर्ब बजेट विनियोजन भैसकेको छ । उक्त सुरुङमार्ग चीनको सहयोगमा राजधानी काठमाडौं र रसुवागढी जोड्ने सडक निर्माण तथा स्तरोन्नति गर्ने सहमति पनि भएको छ । जसबाट नुवाकोट हूँदै चीनको केरुड. पुग्न निकै सहज हुनेछ । सुरुङमार्गको निर्माणको सहमतिअनुसार पहिलो चरणमा चीनले काठमाडौंको टोखादेखि नुवाकोट सदरमुकामसम्म सुरुङ सहितको ३२ किमि सडक मार्ग चीनले अनुदानमा निर्माण गरिदिने भएको हो ।
टोखा – छहरे सुरुङमार्ग ७ किमिको बनाउने विषयमासहमति भएपनि भौगोलिक रुपका कारण केही छाटो हुने देखिएको छ । काठमाडौं रसुवागढी जोड्ने सुरुङमार्ग दुई खण्डमा निर्माण हुनेछ । काठमाडौंको टोखा र नुवाकोटको छहरेसम्म मात्रै सुरुङमार्ग बनाउने विषयमा नेपाल सरकारले गृहकार्य गरिरहेको छ । सो अनुसार काठमाडौँतर्फ टोखा नगरपालिका वडा नं १ झोरमा दुईवटा बिन्दुको पहिचान गरिएको छ भने नुवाकोटतर्फ शिवपुरी गाउँपालिका वडा नं ७ र ८ मा तीनवटा बिन्दु सम्भावित देखिएका छन् । टोखाछहरे सुरुङमार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले सरकारको प्राथमिकता प्राप्त र राष्ट्रिय गौरवको आयोजनाका रूपमा काम सुरु गर्न लागेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक अध्ययनको क्रममा सुरुङमार्ग निर्माणका लागि विभिन्न ३ वटा बिन्दुलाई केन्द्रित गरेर थप अध्ययन गर्न लागिएको छ । अध्ययनमा ३.३, ३.६ र ४.२ किलोमिटर लम्बाइको हुनसक्ने देखिएको छ । जसअनुसारा शिवपुरीको चापाबोटसम्म हुनेछ । त्यो भन्दा केही तल लैजाने विषयमा पनि अध्ययन भैरहेको भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारीले बताए । अर्थमन्त्री डा. प्रकाशशरण महत सुरुङमार्ग बनाउने कुरामा दृढताकासाथ लागेको हुँदा यसको प्रक्रिया तथ तदारुकताकासाथ अघि बढिरहेको अर्थमन्त्रलयका अधिकारीहरुले बताएका छन् ।
अर्थमन्त्रालयले सम्भावित सबै खाले समस्याको यहि आर्थिक वर्षभित्र समाधान गर्दै अर्को आर्थिक वर्षबाट निर्माणका लागि प्रक्रिया सुरु गर्ने पक्षमा रहेको देखिन्छ । उक्त सुरुङमार्ग सहितको सडक निर्माण भइ सञ्चालनमा आएमा मालबाहक सवारी रसुवागडीदेखि काठमाडौंसम्म दुई देखि तीन घण्टामा आइपुग्नेछ भने त्रिदेशीय विकासको बाटो पनि खुल्ने छ । जसबाट अझ बढि फाइदा भने नुवाकोट, रसुवा र धादिड.का जनताले पाउने छन् ।