भोटेकोशी–त्रिशूली बाढीपछि अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा जोड

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १९, सोमबार १४:३९


काठमाडौं । सरकारले भोटेकोशी–त्रिशूली बाढीपछि सञ्चालन हुँदै आएको अत्यावश्यकबाहेकको खोज तथा उद्धार कार्य हालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकले अत्यावश्यक खोज तथा उद्धारलाई निरन्तरता दिँदै पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाउने निर्णय गरेको हो।


जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको सिफारिस तथा स्थलगत अवलोकनका आधारमा खोज तथा उद्धारको चरण परिवर्तन गर्ने निर्णय गरिएको बैठकपछि जनाइएको छ।


बैठकले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ५०४ वटा योजना तथा कार्यक्रम अघि बढाउन ५ खर्ब ५९ अर्ब १७ करोड ७२ लाख २७ हजार रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ।


आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत योजनाका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ। लागत अनुमान खुल्न बाँकी तथा प्राथमिकीकरण हुन नसकेका आयोजनाको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिइएको छ।


बैठकमा प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको र अब पुनर्निर्माण तथा पुनर्स्थापनाको काम पनि तीनै तहका सरकारको समन्वयमा अघि बढाइने बताउनुभयो।


यस क्रममा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेता र बागमती, गण्डकी, मधेश तथा कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण तथा पुनर्स्थापनाको अभियानमा सरकारलाई पूर्ण साथ रहने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *