नुवाकोट कांग्रेसमा मतपत्र हस्ताक्षर विवाद उत्कर्षमा : ३३ महाधिवेशन प्रतिनिधि उम्मेदवार बन्न नपाउने, प्रतिनिधि अन्योलमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २०, मंगलवार १५:२४

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं. २ मा मतपत्रको हस्ताक्षरसम्बन्धी विवाद थप पेचिलो बनेको छ। निर्वाचन अधिकृतको हस्ताक्षर फरक परेको विषयमा परेको उजुरीमाथि केन्द्रीय निर्वाचन समितिले छानबिन पूरा नभएसम्म मतगणना स्थगित गर्न निर्देशन दिए पनि त्यसविपरीत मतगणना गरी प्रमाणपत्रसमेत वितरण गरिएको भन्दै विवाद चर्किएको हो।


क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा निर्वाचन अधिकृतको हस्ताक्षर फरक परेको भन्दै क्षेत्रीय सभापति उम्मेदवार आशा लामाले उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा केन्द्रीय निर्वाचन समिति सदस्य राजु कटवालले छानबिन पूरा नभएसम्म मतगणना अघि नबढाउन निर्देशन दिएका थिए।


तर, केन्द्रीय निर्वाचन समितिको निर्देशनविपरीत मतगणना गरिएको र त्यसपछि निर्वाचित उम्मेदवारलाई प्रमाणपत्रसमेत वितरण गरिएको भन्दै प्रतिनिधिहरूले आपत्ति जनाएका छन्।
विवादकै बीच क्षेत्र नं. २ बाट निर्वाचित ३३ जना महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्बन्धी अन्योलसमेत उत्पन्न भएको छ। प्रारम्भिक प्रक्रियाअनुसार बहादुरसिंह लामाबाहेक अन्य प्रतिनिधिले तत्काल केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिन नपाउने अवस्था बनेको बताइएको छ। उनीहरूले भने महाधिवेशनमा मत हाल्न पाउनेछन्।

उक्त ३३ जनाको नामावली बेलुकी ६ बजेपछि मात्रै प्रकाशित हुने बताइएको छ। तर त्यतिबेलासम्म केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता प्रक्रिया समाप्त भइसक्ने भएकाले प्रतिनिधिहरू अन्योलमा परेका छन्।


विवादमा परेका प्रतिनिधिहरूमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीदेखि जगदीश्वरनरसिंह केसीसम्मका नामसमेत रहेका छन्। आफूहरू निर्वाचित भइसकेपछि उम्मेदवारीको अधिकार नै अन्योलमा पारिएको भन्दै प्रतिनिधिहरू असन्तुष्ट बनेका छन्।


प्रतिनिधिहरूले निर्वाचन प्रक्रियामा देखिएको विवादको निष्पक्ष छानबिन गरी आफ्नो उम्मेदवारीको अधिकार सुनिश्चित गर्न माग गरेका छन्। समस्या समाधान नभए नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पुगेर धर्ना दिने तयारीसमेत भइरहेको बताइएको छ।
यसैबीच, पार्टी सभापति गगन थापाको हस्तक्षेपका कारण निर्वाचन प्रक्रियामा विवाद उत्पन्न भएको आरोपसमेत केही प्रतिनिधिले लगाएका छन्। उनीहरूले पार्टी नेतृत्वले निर्वाचन समितिको निर्णय र प्रक्रियामा हस्तक्षेप गरी विवादलाई विधिसम्मत ढंगले समाधान गर्नुपर्ने माग गरेका छन्।


मतपत्रको हस्ताक्षरसम्बन्धी विवाद, केन्द्रीय निर्वाचन समितिको निर्देशनविपरीत भएको भनिएको मतगणना र त्यसबाट उत्पन्न महाधिवेशन प्रतिनिधिको उम्मेदवारीसम्बन्धी अन्योलले नुवाकोट कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया थप विवादित बनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *