धनगढी । इजरायलमा हमास चरमपन्थी समूहको आक्रमणमा मारिएका ४ जना नेपाली विद्यार्थीको शव आज (आफन्त) परिवारजनलाई बुझाइएको छ । धनगढी विमानस्थलमा सरकारी अधिकारीको उपस्थितिमा चारै जनाको शव आफन्तलाई बुझाइएको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले इजरायलमा मारिएका कैलालीको घोडाघोडी–४ का नारायण प्रसाद न्यौपाने, साविक बौनिया हाल जोशीपुर–४ का आशिष चौधरी र दार्चुलाको मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, लेकम–५ का दीपेशराज विष्टको शव आफन्तलाई बुझाइएको बताउनुभयो । चारै जना शवलाई घरसम्म पुर्याउनका लागी छुट्टाछुट्टै शव वाहनको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
इजरायलबाट आज काठमाडौँ ल्याइएका चारै जनाको शव नेपाली सेनाको हेलिकप्टर मार्फत् धनगढी विमानस्थल ल्याइएको थियो । शव बुझ्नका लागि आफन्तहरू धनगढी विमानस्थल पुगेका थिए । त्यस क्रममा विमानस्थल परिसरमा स्तब्ध र पिडादायी वातावरण सृजना भएको थियो ।

असोज २० गते हमास चरम पन्थीको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएकामध्ये ७ जना सुदूरपश्चिमका रहेका छन् ।
इजरायलमा मारिने अन्य विद्यार्थीमा बझाङका गणेशकुमार नेपाली, डोटीका पदम थापा, राजन फुलारा, सल्यानका प्रवेश भण्डारी, सुनसरीका राजेश कुमार स्वर्णकार, धनुषाका आनन्द साह रहेका छन् । उनीहरूको शव पहिचान गर्ने र कानुनी प्रक्रियामा रहेको क्रममा रहेको बताइएको छ ।
सुदूरपश्चिम विश्वविधालयको लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत कृषि कार्य लागि उनीहरू गत भदौ महिनाको अन्तिम साता इजरायल गएका थिए ।रेडियाे नेपाल