काठमाडौं, कात्तिक २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वतलाई राष्ट्रिय संवतको रुपमा मनाउन संकीर्णता गर्नु नहुने बताउनुभएको छ ।
मङ्गलबार काठमाडौँको वसन्तपुरमा आयोजित नेपाल सम्वत् ११४४ को कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधामन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतकाे रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको काम साह्रानिय रहेको बताउनुभयो । उहाँले नेपाल सम्वत् राष्ट्रिय सम्वत् भएकाले सबै मिलेर मनानुपर्ने धारणा औंल्याउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सम्वतलाई राष्ट्रिय सम्वत् भनेर मात्रै नपुग्ने भन्दै सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गरिएको जानकारी दिनुभयो ।
‘‘नेपाल सम्वतलाई राष्ट्रिय सम्वतकाे रुपमा मान्यता दिलाउनको निम्ति नेवार समुदायले गरेको कामलाई उच्च सम्मान गर्दछु । आम नेपाली जनतालाई जुनसुकै समुदायको भए पनि नेपाल सम्वत् हामी सबैको साझा सम्वत् हो । राष्ट्रिय सम्वत् हो ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘ त्यसकारण यसलाई मनाउने कुरामा कुनै खालको संकीर्णता हामी कसैले देखाउनु हुँदैन । तपाईहरुले निरन्तर उठाएको आवाजका आधारमा नेपाल सम्वत् राष्ट्रिय सम्वतकाे रुपमा घोषणा गरेँ । नेपाल सम्वतलाई राष्ट्रिय सम्वत् भनेर मात्रै पुग्दैन, कार्यान्वयन गर्नुपर्छ भनेर निर्णय गरेको छु । नेपाल सम्वतलाई सबै सरकारी दस्ताबेजहरुमा उल्लेख गर्न अनिवार्य गर्न गरिएको निर्णय हो ।’’ प्रधानमन्त्री प्रचण्डले देशको मौलिकता र संस्कृतिलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभयो ।