कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ ग्रहण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १२, बिहीबार ०७:५४

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको आज शपथ ग्रहण हुँदैछ।


कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोह आज कात्तिक १२ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरिएको छ।


निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई समारोहमा शपथ ग्रहण गराइनेछ। निर्वाचन समितिले यसअघि नै सूचना जारी गर्दै सम्बन्धित सबैलाई समारोहमा उपस्थित हुन आग्रह गरेको थियो।


सभापतिमा निर्वाचित गगन कुमार थापाले भने दशैंको फूलपातीका दिन असोज ३१ गते नै शपथ ग्रहण गरी पदबहाली गरिसकेका छन्।


असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ। बाँकी ६६ सदस्य सभापतिले मनोनयन गर्ने प्रावधान छ।


नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहणपछि बाँकी केन्द्रीय सदस्य मनोनयन र संगठनात्मक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्ने तयारीसमेत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *