
नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका अन्र्तरगत रहेको चिम्टेश्वर महादेवको मन्दिरको धार्मिक र ऐतिहासिक रुपमा आ आफ्नै मान्यता रहेका छन् । एउटा लामो इतिहास नै भएका यस्ता धेरै मठ मन्दिर र धार्मिक क्षेत्रको सहि पहिचान गरेर त्यसको प्रचार प्रसार हुँदा पछिल्लो समय त्यस्ता क्षेत्रहरु पर्यटकीय र धार्मिक रुपमा निकै प्रख्यात बनिहेका छन् । तर यि दुवै गुण भएको र राजधानीबाट समेत नजिक पर्ने चिम्टेश्वर महादेवको मन्दिरसहित पर्यटकीय रुपमा समेत अत्यन्त आकर्षक मानिएको यो क्षेत्र भने निकै पछाडि परेको छ । धार्मिक तथा ऐतिहासिक मान्यता अनुसार पृथ्वीनारायण शाहले यस ठाउँमा गढी बनाएका थिए । सायद नुवाकोट र बेल्कोटगढी आक्रमण गर्न तथा काठमाडौं उपत्यका हेर्न त्यो स्थान उपयुक्त ठानेका थिए । उनले त्यहाँ चिम्टेश्वर महादेवको आराधना गरेको किंवदन्ती पनि रहेको छ ।
चिम्टेश्वर महादेवको आफ्नै प्रकारको कथा पनि त्यहाँ सुनिन्छ । समुद्र मन्थनबाट निस्किएको विष खाएपछि महादेव उत्तरापन्थ लागेका र त्यो स्थानमा आइपुगेर चिम्टा छोडेका कारण त्यहाँ चिम्टेश्वर महादेव पुजिन थालेको कहानी त्यस स्थानसँग जोड्ने गरिएको छ । मन्दिरमा पूजा एक जना माताले गर्दै आएकी छिन् । हामीले उनको आफ्नै प्रकारको गुनासो सुन्यौँ । झण्डै २ हजार मिटर माथि रहेको उक्त क्षेत्रबाट लाङटाङ, गणेश, जुगल, दोर्जेलाक्पालगायत आधा दर्जन हिमश्रृङ्खलाका अतिरिक्त काठमाडौं उपत्यका, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, दोलखा, रामेछाप, धादिङजस्ता जिल्लाको केही भाग देख्न सकिन्छ । त्यहाँबाट तिब्बतको केरुङ पनि देख्न सकिन्छ । अयर्थ पनि यो स्थान पर्यटकीय गन्तव्यमा रुपमा निकै उपयुक्त रहेको छ । गत २०७४ मा स्थानीय तहको पहिलो निर्वाचनपछि गठन भएको स्थानीय सरकारको ध्यान त्यहाँ पुगेको थियो ।
तत्कालिन स्थानीय सरकारले त्यसको सम्भावनालई मध्यनजर राख्दै पर्यटकीय गन्तव्य बनाउने उदेश्यले केही सकाररात्मक कामको थाली गरेको थियो । पहिलो चरणमा पार्क निर्माणदेखि टावर बनाउने कामको कार्ययोजना तय भएको भएपनि पार्क निर्माणका विषयमा केही विवाद सिर्जना भएपछि भने टावर निर्माणकोकाम सम्पन्न भएको थियो । टावर बनेका कारण नै त्यहाँ जिल्लाबासी मात्रै नभई अन्यत्र स्थानबाट समेत घुम्न आउने क्रम सुरु भएको थियो । त्यसपछिका दिनमा भने उक्त क्षेत्रको प्रचार प्रसार सुरु भएको छ । दोस्रो पटक निर्वाचित स्थानीय तहले भने त्यसको सम्भावनालई थप बलियो बनाउँदै उक्त क्षेत्रको संरक्षण र विकासका लागि नै सक्रियता देखाएको छ । केही दिन अघि बसेको नगरपालिका कार्यपालिका बैठकले चिम्टेश्वर विकास समिति गठन गर्दै त्यसको नेतृत्व पनि चयन गरेको छ । यसले सो क्षेत्रको संरक्षण र विकास हुने कुरामा केही आशा पलाएको छ । नगरपालिकाको यो निर्णयप्रति आम रुपका सकारात्मक सन्देश समेत प्रवाह भएको छ ।
विकास सबैको हो भन्ने मान्यताकासाथ अब यो क्षेत्रको संरक्षणका लागि कहिँ कतैबाट पनि अवरोध सिर्जना गरिनु हुँदैन ।वडा नं २ का अध्यक्ष रामचन्द तिमिल्सिनाको अध्यक्षतामा गठन भएको उक्त समितिले अब तदारुकताकासाथ काम गर्न सक्नुपर्दछ । यदि कसैले त्यसलाई राजनीतिक गन्धका रुपमा लियो र विकासको बाटोमा अवरोध सिर्जना गर्यो भने त्यसको जवाफ स्वय्म उसैले नै दिनुपर्ने छ । यसतर्फ सिंगो नगरपालिकाको ध्यान जानुपर्दछ । समिति बनाउँदै सबै काम पूरा हुने पक्कै होइन । बृहत कार्ययोजनकासाथ मुख्य कुरा काम गर्ने इच्छाशक्ति आवश्यक पर्दछ । अब सरकारले यसलाई आफ्नो मुख्य गुरु योजनाकासाथ काम अघि बढाएको खण्डमा एउटा चिम्टेश्वरले नै बेलकोटगढी नगपालिकालाई आर्थिक, धामिर्क, सांस्कृति र सामाजिक रुपमा थप उचाईमा पुर्याउने छ । यसर्थ चिम्टेश्वरको विकासमा सबैले हातामालो गरौं र र बेलकोटगढीलाई एक सुन्धर नगरी बनाऔं