
काठमाडौँ, पुस १२ गते । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा रहेका मन्त्रीहरुको कार्यप्रगती सकारात्मक नभएको भन्दै फिर्ता बोलाएर भएपनि सरकारको कामकारबाही प्रभावकारी बनाउने बताउँदै आएको भएपनि कांग्रेसले भने सरकारमा रहेका पार्टीका मन्त्रीहरुलाई फिर्ता नबोलाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी सभापति शेरबहादुर देउवासँग कांग्रेसका मन्त्रीहरुबाट पनि प्रभावकारी काम नभएको भन्दै पुरानालाई फिर्ता बोलाएर नयाँ अनुहार पठाउन आग्रह गरेपनि सभापति देउवाले भने त्यसलाई अस्वीकार गर्नुभएको कांग्रेस निकट स्रोतले जनाएको छ । सभापति देउवाले राष्ट्यिसभा निर्वाचन र फागुनमा पार्टीको महासमिति बैठक रहेकाले त्यसभन्दा अगाडि मन्त्रीहरु फेरबदल गर्दा पार्टीमा थप दवाव सिर्जना हुने र त्यसले निर्वाचन र महासमिति बैठक समेत प्रभावित हुने भन्दै यस विषयमा अहिले निर्णय नगर्ने बताएपछि मन्त्रिमण्डल फेरबदल हुने कुरा स्थगित भएको छ । स्मरणीय छ, आगामी माघ ११ गते राष्ट्यिसभा निर्वाचन हुँदैछ भने कांग्रेसले पार्टीको महासमिति बैठक पछिल्लो तेस्रो पटक सारेर फागुनमा गर्दैछ । महासमिति बैठकमा पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरुका विषयमा पनि कुरा उठ्ने अनुमान गरिएको छ । केही दिनअघि बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकमा समेत मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भएको थियो । कतिपय नेताहरुले त माओवादीसँगको गठबन्धन तोड्नुपर्ने आजावन समेत उठान थालेका छन् ।
पार्टीका नेताहरुले सरकार र गठबन्धनका विषयमा कुरा उठाएको भएपनि सभापति देउवाले भने तत्काल त्यस्तो कुनै निर्णय लिने मनस्थिति बनाउनु भएको छैन । देउवा,दाहाल र नेपालबीचको भद्र सहमति अनुसार अबको एकवर्षपछि प्रधानमन्त्रीका लागि कांग्रेसको पालो आउँदैछ । सभापति त्यसको प्रतिक्षामा रहनु भएको छ । तर संस्थापनइतर पक्षले भने त्यो अगाबै देउवालाई संसदीय दलको नेताबाट हटाए शेखर कोइरालालाई संसदीय दलको नेता बनाउने र प्रधानमन्त्रीको तयारीमा राख्ने तयारी थालेका छन् । उनीहरुको तयारीकाबीच देउवालाई संसदीय दलको नेताबाट हटाउन प्रयास भने संम्भव नभएको संस्थापन नेताहरुले बताउने गरेका छन् । देउवासँग निर्वाचन लडेका गगन थापाले जम्मा २५ मत मात्रै ल्याएका थिए । गगन असफल भएपनि अहिले भने शेखरलाई अघि सारेका छन् । पार्टीमा कुनै त्यस्तो ठूलो परिवर्तन नभए शेखरको हालत पनि गगन जस्तो हुने चर्चा पार्टीमा चलिररहेको छ । सरकार गठन भएको आज १ वर्ष पूरा भएको छ ।