काठमाडौं । व्यवस्थापिका संसदमा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीष नेताहरुले लोकतन्त्रको रक्षाका लागि एकतावद्ध हुने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसले राजधानीमा आयोजना गरेको ४८ औं मेलमिलाप दिवसका अवसरमा बोल्नै नेताहरुले लोकतन्त्रका लागि एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका हुन । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताउनुभएको छ । उहाँले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिनुभयो । उहाँले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।
‘‘बिपी कोइरालाले ल्याएको नीतिको मेलमिलाप र एकतामा प्रभाव छ । अहिले हाम्रो देशमा यसको आवश्यकता अझै बढेको छ । अनेक किसिमका बहाना खोज्नेहरु लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो । यसको विकल्प छैन । लोकतन्त्र र गणतन्त्रको विकल्प अझ राम्रो गर्नु हो । कसैले पनि यसको विकल्प नसोचे हुन्छ, सबै एक हुनुपर्छ ।’’सभापति देउवाले एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘‘अब अहिलेको बेलामा अत्यन्तै आवश्यकता छ । सानो देश हो यो । हाम्रो देशमा आफ्ना मतभेदहरु, पार्टीगत वैचारिक मतभेद, पार्टीका प्रतिस्पर्धाहरुदेखि लिएर हाम्रा आफ्ना कुरा छन् । नेपालमा एउटा राम्रो कुरा के छ भने सबै पार्टीहरु एक ठाउँमा बस्ने जुन संस्कार बनेको छ, सायद धेरै कम छन्, मान्छे छक्क पर्छन् । एउटा पार्टीको कार्यक्रममा अरु नेता आएको देख्दा विदेशबाट आउने मानिसहरु छक्क परेका हुन्छन् । प्रतिस्पर्धाका बाबजुत एकअर्काप्रति कडा प्रतिस्पर्धा हुन्छ, त्यसका बाबजुत पनि बोलीचाली, मेलमिलापको वातावरण छ, यो धेरै कम देशमा छ ।’’ सभापति देउवाले सबै मिलेर एकता कायम गरी मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने बताउनु भयो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष ओलीले आफ्नो पार्टीले राष्ट्रियताको प्रश्न, मुलुकको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरुसँग मेलमिलाप गरेर अघि बढ्न चाहेको दोहो¥याउनुभयो । उहाले नेपाली जनताले फालिसकेको राजतन्त्र आउने कुरा असम्भव भएको भन्दै त्यसका लागि तीन दल एक ठाउँमा उभिने दावी गर्नुभयो । अध्यक्ष ओलीले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला भ्यु टावर बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्नुहुँदै उहाँले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो ? भनी प्रश्नसमेत गर्नुभयो ।
‘‘अहिलेका राज्य सञ्चालनमा आफ्नो भूमिकासँग सन्तुष्ट रहेको नेपाली कांग्रेसको तलाउमा मैले एउटा ढुङ्गा फुत्त फालिदिएर कुनै तरङ्ग ल्याउने मेरो इच्छा छैन । त्यसकारण म त्यतापट्टि बिल्कुलै जान चाहन्नँ । कुनै अमनचैनमा खलल पार्न पनि चाहन्न । त्यस सीमाभित्र मात्रै म बोल्छु ।,’’ उहाँले भन्नुभयो, ‘‘विश्वप्रकाशजीले अलिकति अग्ला घर किन बनाइस् ? कलकत्ता जान गङ्गाको बाटो किन भनिस्, ट्रक नै कुदाउनुपर्ने ठाउँमा पाइपलाइन अमलेखगञ्जमा किन ल्याइस् ? ट्याङ्कर चलाउनुपर्ने ठाउँमा त्यो काम किन गरिस् ? बयलगाडा चलाइराखेका थिए, हुलाकी राजमार्ग किन बनाइस् ? त्यत्रो साढे आठ लाख पुनर्निमित घरहरु त्यति छोटो अवधिमा बनाएर पीडितहरुलाई किन हस्तान्तरण गरिस् ? ठूला कुरा गर्ने । उहाँले आफ्नो प्रचलित शैलीमा ललकार्नु भयो । त्यसको पनि म जवाफ दिन्नँ । म त्यतापट्टि पनि जान चाहन्नँ । म कुनै विवादास्पद कुरा गर्न पनि आवश्यक ठान्दिनँ । यत्ति हो यो देशमा कहिलेकहिले खतरा आउँछ कि भनेर झस्किन्थेँ ।’’
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले मेलमिलापको आवश्यकता अहिले पनि उत्तिकै सान्र्दभिक रहेको भन्दै त्यसका लागि आफूले पहल गरेको उल्लेख गर्नुभयो । उहाले मेलमिलाप र आपसी एकताका लागि नै आफू एमालेको समर्थनमा प्रधानमन्त्री भएका बेला कांग्रेसलाई राष्ट्पतिमा समर्थन गरेको स्मरण गराउनु भएको थियो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराई,लोकतान्त्रिक समाजवादीका राजेन्द्र श्रेष्ठ, शरदशीह भण्डारीले पनि अहिलेको अवस्थामा दलहरुबीच राष्ट्यि एकता आवश्यक रहेकोमा जोड दिनुभएको थियो । कार्यक्रममा संसदमा प्रतिनिधित्व गरेका दलहरुमध्ये राष्ट्यि स्वतन्त्र पार्टी र राप्रपालाई भने आमन्त्रण नगरिएको बताइएको छ । कार्यक्रममा कांग्रेस सहमाहामन्त्री महालक्ष्मी डिना उपाध्यायले स्वागत मन्तव्य राख्नु भएको थियो भने महामन्त्री विश्वप्रकाश शर्माले कार्यक्रमको औचित्यका बारेमा जानकारी गराउनु भएको थियो । नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय वीपी कोइरालाले २०३३ साल पौष १६ गते राष्ट्यि मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ ।