
शुकदेव दाहाल
नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाले अघि सार्नु भएको एउटा विचार थियो मेलमिलाप,तर कालान्तरमा यो एउटा सिंगो दिवसको रुपमा परिभाषित हुँदै आएको छ । स्वर्गाीय कोइरालाका यो विचार हिजोसँगै आजका दिनमा पनि उत्तिकै सान्र्दभिक बन्दै गएको छ । संस्थापक नेता कोइराला लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ । जसलाई इतिहासले पनि सकारात्मक रुपमा पुष्टि गर्दै आएको छ ।
हिजो प्रजातन्त्रका लागि नेपाली कांग्रेस र बापन्थी दलहरुबीचको आपसी एकता र मेलमिलापका कारण नै प्रजातन्त्र स्थापना भएको थियो । २०५८ पछि राजा ज्ञानेन्द्रको एकदलीय शाही शासनकाविरुद्ध राजनीतिक दलहरुबीच भएको मेलमिलाका कारण नै देशले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्यो । जसका कारण आज जनता सार्वभौम सम्पन्न नागरिकको रुपमा स्वतन्त्रता उपभोग गरिरहेका छन् । जब देशलाई संकट पर्दछ तब राजनीतिक दलहरुबीच आपसी एकता कायम हुने र एउटा निकास निकाल्ने राजनीतिक विशेषता बन्दै आएको छ । तर यहि महत्वपूर्ण विशेषता बोकेका दलहरु जब सत्तामा पुग्छन् तब एकले अर्कोलाई बहिस्कार गर्ने, अस्वीकार गर्ने परम्परा पनि त्यतिकै मौलाएको छ । यहि परम्पराका कारण राजनीतिक लडाइ पार गर्दा पनि देशले आर्थिक रुपमा भने आफ्नो गन्तब्य पहिल्याउन सकिरहेको छैन । लोकतन्त्र प्राप्तिपछिका डेड दशक पूरा हुँदै गर्दा पनि जनताको आयस्तर उस्तै छ, बेरोजगारी, भ्रष्टाचार, सुशासन कायम हुन सकिरहेको छैन ।
२०७२ को महाभुकम्प र त्यतिपछिका दिनहरुमा देखिएका संक्रमणयुक्त रोगहरुका कारण देशको आर्थिक अवस्थालाई थप कमजोर बनाएको छ । राज्यको पछिल्लो आर्थिक तथ्यांकलाई हेर्दा त झन अवस्था निराशाजनक देखिन्छ । यि तमाम समस्याकाबीच जनतामा गणतन्त्रप्रतिको आस्था र विश्वासमा कमि हुँदै गएको छ । राजनीतिक दलहरुप्रति विश्वास डगमगाइरहेको छ । वषौंदेखि त्याग र बलिदानी दिएका दलहरुभन्दा क्षणिक रुपमा आवेशमा खोलिएका दलहरुप्रति जनताको आशा पलाएको अवस्था छ । यि तमाम समस्यालाई पार लगाउने भनेको पुराना राजनीतिक दलहरुले नै हो ।
हिजो जसरी आपसी एकता र मेलमिलापकासाथ देशलाई राजनीतिक नेतृत्व दिएर यो अवस्थामा ल्याउन सफल भएका छन त्यसैगरि नै अब आआफ्नो पार्टीको र व्यक्तिगत स्वार्थलाई भन्दा माथि राखेर एकपटक मेलमिलापको नीति मार्फत देशको हितमा काम गर्न जरुरी भएको छ । हिजोको कार्यक्रममा दलका नेताहरुले जसरी कोइरालाप्रति जुन श्रद्धा प्रकट गर्दै मेलमिलापलाई महत्व दिएका छन् , अब त्यहि रुपमा अघि बढेर देशलाई आर्थिक क्रान्तिको बाटोमा लैजान ढिला भैसकेको छ । दलहरुले पाएको यो जिम्मेवारी र अवसरलाई सहि रुपमा सदुपयोग गर्न सकेनन् भने जनताले अब धेरै समय कुर्ने अवस्था छैन । मेलमिलाप दिवसका अवसरमा हार्दिक शुभकामना ।