धादिड. । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । प्रतिनिधि छनोटका विषयमा विवाद सिर्जना भएपछि अनिश्चितकालका लागि स्थगित भएको छ । बन्दसत्रका क्रममा प्रतिनिधिहरुबीच नै कुटाकुटपछि अधिवेशन नै स्थगित गरिएको हो ।
माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको थियो । कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोषको हात नै भाँच्चिएको बताइएको छ । आन्तरिक विवाद मिलाउन नसकेपछि बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको गर्नूभएको सूचना टाँसिएको थियो ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखाप¥यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।
अधिवेशनका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेताहरु र अर्को पक्षका नेताहरुबीच प्रतिनिधि छनोटका विषयमा विवाद उत्पन्न भएको बताइएको छ ।