
शुकदेव दाहाल
१२ वर्षको जनयुद्धमार्फत नेपालको राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र यतिखेर सत्तामा रहेको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गरिरहनु भएको छ । संविधानसभा र गणतन्त्रको मुख्य नारा लिएर २०५१ सालमा जनयुद्ध सुरु गरेको माओवादीले २०६२ सालमा १२ बुँदे दिल्ली सम्झौतामार्फत शान्तिपुर्ण राजनीतिमा प्रवेश गरेको थियो । शान्तिपुर्ण रुपमा प्रवेश गरेसँगै भएको शान्ति सम्झौतापछि माओवादी पनि संसदीय राजनीतिमा क्रियाशिल हुँदै आएको छ । २०६४ सालमा भएको पहिलो संविधानसभामा ठुलो र पहिलो दल बनेको माओवादीले सरकारको नेतृत्व एक्लै गरेको थियो ।
तर उसले त्यसलाई सहि समयसम्म लान सकेन र विचमा नै छाडेर सत्ताबाट बाहिरियो । त्यसपछिका दिनमा भने माओवादीको राजनीति पनि मेलमिलाप र सहमतिबाट मात्रै अघि बढिरहेको छ, अर्थात उसले भनेजस्तो रुपमा सत्ता सञ्चालन गर्न पाएको छैन । यसबीचमा उसले धेरै आरोह अवरोध झेल्दै आएको छ । अध्यक्ष दाहाललसँगका जनयुद्धका सारथीहरु धेरैले पार्टी छाडे, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द,सिपी गजुरेल,रामबहादुर थापा,किरण जस्ता नेताहरुले पार्टी छाड्दा माओवादी कमजोर र निरिहजस्तो पनि बनेको थियो । तर राजनीतिक रुपमा चलाख पार्टी अध्यक्ष पुष्पकमल दाहालले माओवादी नामको पार्टीलाई मात्र होइन आफूलाई समेत राजनीतिको केन्द्रमा राख्दै आउन सफल हुनु भएको छ ।
२०७९को आम निर्वाचनपछि माओवादी तेस्रो दलका रुपमा खुम्चिदै आएको छ । उसको संसदीय राजनीतिमा उपस्थिति बलियो देखिदैन तर पनि सत्ता राजनीतिको फाइदा सबैभन्दा बढि माओवादीले नै लिदै आएको छ । २०७४ सालमा नेकपा एमालेसँग सुरुमा तालमेल गरेको उसले पछि पार्टी एकता नै गरेर अघि बढेको थियो । तर नेकपा एमालेका अध्यक्ष तथा एमाले पार्टीको छायाँमा परेको दाहालको राजनीति पछि फेरि अदालतको आदेशले माओवादी केन्द्रका रुपमा नै स्थापित भएर अध्यक्षको जिम्मेवारीमा पुग्नुभयो । त्यसपछि २०७९ सालमा भएको निर्वाचनमा भने माओवादी तेस्रो दलका रुपमा खुम्चिएको अवस्था छ ।
नेपाली कांग्रेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको भएपनि उसले सोचेजस्तो मत परिणाम पाउन सकेन । प्रत्यक्ष र समानुपातिक गरेर ३२ सिटमा झरेको माओवादी यतिखेर पनि संघ र प्रदेश दुवैमा सत्ताको केन्द्रमा रहँदै आएको छ । २०७९ पुस १० गते पहिलो पटक एमालेको समर्थनमा प्रधानमन्त्री बन्नु भएका दाहाल एमालेले साथ छाडेसँगै कांग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नु भएको छ । नेपाली कांगेससँगको भद्र सहमति अनुसार आलोपालो प्रधानमन्त्री बन्ने भनिएको छ । पहिलो चरणमा दाहाल प्रधानमन्त्री बन्नु भएको छ । उहा दुई वर्षकालागि प्रधानमन्त्री बन्ने कुरा गरिएको छ । सहमति अनुसार उहाले १५ महिना पूरा गरिसक्नु भएको छ । त्यसपछि एक वर्ष माधव नेपाल र त्यसपछिको दुइ वर्ष शेरबहादुर देउवाको पालो आउने भद्र सहमति छ । यसरी हेर्दा दलहरु आलोपालोमा केन्द्रीत छन् ।
यहाँ यो विषय किन स्मरण गर्न खोजिएको हो भने प्रधानमन्त्री दाहालको पछिल्लो अभिव्यक्तिले कतै माओवादी यो भद्र सहमतिलाई तोड्ने रणनीतिमा त लागेको होइन भन्ने आशंकाहरु सुरु भएकाले नै उठान गरिएको हो । सोमबार भएको पार्टीको केन्द्रीय कमिटिको बैठकमा अध्यक्ष दाहालले कांग्रेसले आफुहरुलाई कोशी प्रदेशमा धोका दिएको स्मरण गराउँदै गठबन्धनका विषयमा सोच्ने बेला आएको उल्लेख गर्नुभएको छ । दाहालले भनेजस्तै कोशीमा कांग्रेसबाट धोका भएको भने पककै हो । तर संस्थापनबाट नभइ इतर पक्षले धोका दिएको निश्कर्ष गठबन्धनले नै निकालेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवा जो सत्ता राजनीतिका एक महत्वपर्ण जानकार अझ भनौं खेलाडी भएकाले उहाले धेरै कुरा बुझेर नै माओवादीलाई साथ दिइरहनु भएको छ । नेपालको संसदीय व्यवस्थामा समानुपातिक र समावेसीको व्यवस्था रहेको छ । यो व्यवस्थाका कारण कुनैपनि दलले बहुमत ल्याउन सक्ने देखिदैन । यो अर्थमा गर्ने भनेको गठबन्धन नै हो । सत्तामा पनि तालमेल नै हो । यदि माओवादीसँग कांग्रेसले नगर्ने हो भने एमाले तयार भएर बसेको छ । एमाले र माओवादी मिल्नु भनेको कांग्रेसलाई सत्ता राजनीतिमा प्रवेश हुन नदिनु हो । यो बुझेर नै कांग्रेसले आफुमाथिको आलोचना सहेर पनि सत्तामा छ । यसको सबै अपजस देउवालाई लगाएर कांग्रेसका संस्थापनइतर पन्छिरहेका छन् ।
कांग्रेससँग टाढिएर एमालेको समर्थनमा फेरि अर्को दुइ वर्ष प्रधानमन्त्री बन्ने दाहालको राणनीति स्वरुप चलिएको यो चाल हुनसक्छ । यसलाई असफल बनाउन कांग्रेसभित्र एकता कायम हुनु जरुरी छ । एमाले पनि यो गठबन्धनलाइ फुटाएर सत्ता राजनीतिमा प्रवेश गर्न खोजिरहेको छ र उ उपयुक्त समयको पर्खाइमा रहँदै आएको छ । प्रधानमन्त्री दाहालले भनेजस्तो माओवादीले गठबन्धनमा पुर्नरविचार गर्ने र एमालेसँग मिल्ने हो भने कांग्रेसका लागि तत्काल हुनै असर त नगर्ला तर त्यसले प्रजातान्त्रिक शक्तिहरुलाई निश्चयनै कमजोर बनाउँदै लैजाने छ । यति भनौं कांग्रेसका लागि पनि अनिश्चयको दिन सुरु हुनेछ । त्यतिखेर सत्ता निकै पर पनि हुनेछ । यसले आम रुपमा जनताबाट कांग्रेस टाढिन सक्ने अवस्था पनि आउने छ । लोकतन्त्रमा देश र जनताको हितमा काम गर्ने भनेको सत्तामा रहेर नै हो । सत्ता भएन भने त्यसले पार्टीका विचार र सिद्धान्तलाइ कार्यान्वयन गर्न सक्दैन ।
जनता अहिले नगदमा फाइदा खोजिरहेका छन् , नजद जसको हातमा हुन्छ उसले समर्थन प्राप्त गर्दछ । यो सबै विचार गरेर अबको सत्ता आफ्नो हातमा लिएर अर्को निर्वाचनसम्म रहने स्थिति बनेको खण्डमा भने कांग्रेसले ८४ मा सोच्न सक्ने कुरामा विवाद छैन । नत्र संस्थापनइतर पक्षले भनेजस्तो जसरी पनि देउवालाई सत्ताबाट फुकाल्ने र कांग्रेस आफूहरुले हाँक्ने सपना देखेकाहरुका लागि आगामी दिनमा कांग्रेस एउटा मसिनो पार्टीका रुपमा बिलिन हुने अवस्था आउने छ । चेतना भयाँ