
दिपक लामा बेलकोटगढी ७ नुवाकोट
नुवाकोट बाँचेकै छ
पिपल्टार, बट्टार र इनारपाटीका कुमालेको चक्र नचलेनि
शिखरबेशी, थान्सिङ र शेरा बगरमा धान नफलेनि
नुवाकोट बाँचेकै छ ।
नौ वटा कोटहरु हराए पनि बाघहरू जंगलमा डराए पनि
वरपिपलको चौतारा ढलेपनि जनताले नेतालाई थुकेपनि
नुवाकोट बाँचेकै छ ।
पिचबाटो धुलाम्य भएपनि मान्छेहरू शहर गएपनि
केही जमातहरु माटोसँग विलय भै आलु, पिँडालु शखरखण्डा व्युताउँदै छन् सारा सुख हराएपनि
नुवाकोट बाँचेकै छ ।
घाँसे, मारूनी, घाटु र भजन भैरवीको सुरतालमा यात्रा सिन्दुरको होली खेली जालपाको दर्शन गर्दछन् जात्रा
नुवाकोट बाँचेकै छ ।
नभए के भो त कुनै उद्योग कलकारखाना साथै विकास
नमानी लाज कराउँछन् अगुवा गरेकै झैं अनि हुन्छन् अवकाश
नुवाकोट बाँचेकै छ ।
पर्यटन, संस्कृति रीतिरिवाज अजंगको
मिलेरै मनाउँछन् एकअर्कामा परी दङ्ग
नुवाकोट बाँचेकै छ ।
दुप्चेश्वर, चिर्केश्वर, अनन्तेश्वरका साथै बस्छिन् निरञ्जना
डबली, पौवा, कोटहरुको संरक्षणमा अलि कम
नुवाकोट बाँचेकै छ ।
घना अरण्य, कञ्चन गङ्गाको साथमा ती समथर फाँट
अझै के खोज्दै होलान् संगीहरु दिनुछ आँट
नुवाकोट बाँचेकै छ ।
थुम्का र पहाडहरुको बनोट अनि टावर बनाउने छनौट
कंक्रिटको बसाइँ थलिएको शरीर गर्छन् यस्ता बनौट
नुवाकोट बाँचेकै छ ।
प्रचण्ड गर्मी र शीतलहर को बेफिक्री दौडिन सिपालु छन्
सोझा साझा, बाङ्गो टिंगो, उपड खाबड भएका मन
नुवाकोट बाँचेकै छ ।
मन्सुली, पोखरेली, फिजी हराएपनि भविष्यसँग डराए पनि
ढुङ्गा, गिट्टी, बालुवा बगाए पनि खोला सारा सकाए पनि
नुवाकोट बाँचेकै छ ।
कुटुमसाम खुलेकै छ भाल्चे मा भेडा डुलेकै छ
देउरालीमा सुन्तला फलेकै छ युवाहरुको नसनाडी गलेकैछ
नुवाकोट बाँचेकै छ ।
काफल, ऐँसेलु, स्ट्रबेरी का साथ अझ मुलबेरी
खुलेका दूधडेरी हरुको बिजोक पोखिन्छ दूध बाटाभरि
नुवाकोट बाँचेकै छ ।
ठूला ठूला स्कुल भवन अझ ठूलै छन् शिक्षकका हुल
हुल भित्रका माहोल झन् निराशा मोटाएका बोर्डिङ स्कुल
नुवाकोट बाँचेकै छ ।