
शुकदेव दाहाल
नेपालमा २००३ सालमा बुहदलीय व्यवस्था स्थापना भएसँगै जनताले राजनीतिक अधिकारहरु प्राप्त गर्दै आएका छन् । राजनीतिको आठ दश पूरा हुनै लाग्दा ठुला ठुला क्रान्तिमार्फत नेपालले अनेक प्रकारका राजनीतिक उतार चढाव व्यहोर्दै आएको छ । २००७ सालमा प्रजातन्त्र स्थापना पश्चात सुरु भएको लोकतान्त्रिक अभ्यास बेला बेला पछाडि फर्कनु परेको इतिहास ताजै छन् । २०१६ सालमा गठन भएका पहिलो जननिर्वाचित सरकार जनपक्षीय भएको र राजाहरुका प्रभुत्व घटेको निश्कर्षकासाथ तत्कालिन राजा महेन्द्रले २०१७ सालमा फेरि प्रजातन्त्रको हत्या गर्दै निरंकुश व्यवस्था अर्थात पञ्चायत लागू गरेका थिए ।
३० वर्षको पञ्चायतको कालोरात्रीलाई हटाउन निकै संघर्ष गर्नुपरेको थियो र त्यो २०४६ सालमा पूरा भयो । त्यसपछिका दिनमा भने प्रजातन्त्रको राम्रै उपयोग गरिएयो । तर त्यसपछिका राजनीतिक अस्थिरताका कारण भने देशले एउटा सहि गन्तव्य पहिल्याउन सकेन । जसको फल आजसम्म पनि जनताले भोगिरहनु परेको छ । २०४७ सालमा कांग्रेसको बहुमतकासा गठन भएको सरकारले २०५१ सालमा तीन वर्षको अवधिमा नै मध्यावधी निर्वाचन घोषणा गरेपछि सुरु भएको राजनीतिक अस्थिर आजसम्म पनि जारी छ । त्यहि समयबाट नै बहुदलीय व्यवस्थामाथि बवरोध सिर्जना हुँदै आएका छन् । यहि राजनीतिक अस्थिरतालाई देखाउँदै तत्कालिन राजा ज्ञानेन्द्रबाट हस्तक्षेप भयो ।
चार वर्षको राजाको शासनपछि जनताले जनआन्दोलन र जनयुद्धको बलमा लोकतन्त्र ल्याइँछाने । लोकतन्त्रपछि राजा हटे । राजाको ठाउँमा राष्ट्पति राखियो । देश संघीयतामा गयो । संविधानसभामार्फत संविधान निर्माण गरियो । सोही आधारमा अहिले तीन तहको सरकार सञ्चालनमा छ । तर मुल कुरा जनताको अवस्था बदलिएन । व्यवस्था बललियो तर अवस्था बदलिन सकेन । यसको मुल जड भनेको राजनीतिक अस्थिरता नै हो । संवैधानिक व्यवस्था अनुसार समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउन सक्ने अवस्था बन्न सकेन र गठबन्धनको सरकार निर्माण हुने अवस्था बन्यो । गठबन्धको सरकारसँगै हामीले हरेक पटक राजनीतिक अस्थिरता व्यहोर्दै आएका छौं । गत वर्षको निर्वाचनपछि तीन पटक सरकार परिवर्तन भएका छन् । संसदमा तेस्रो दलको रुपमा रहेको नेकपा माओवादीका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल कहिले कांग्रेसको समर्थन र कहिले एमालेको समर्थन लिएर सरकार सञ्चालन गरिरहनु भएको छ । तर पहिलो र दोस्रो दल माओवादीको खेलौना जस्ता भएका छन् । यतिखेर सरकार चलेको मात्रै छ ।
देशले खोजेको मुख्य कुरामा सरकार पस्न नै सकेको छैन । प्रधानमन्त्रीको मुख्य प्राथमिकता सरकार टिकाउने मात्रै हुन पुगको छ । कांग्रेससँगको गठबन्धन तोडेर एमालेकोमा पुगेका प्रधानमन्त्री यसबाट पनि सन्तुष्ट हुन सक्नु भएको छैन । उता कांग्रेस यो गठबन्धन फुटाउन कस्सिएको छ । नयाँ सरकार बनेको एक महिना पूरा भएसँगै फेरि अर्को गठबन्धनको विषयमा चर्चा सुरु भैसकेको छ र त्यसका आधारहरु निर्माण भैरहेका छन् । यसले गर्दा देश अस्थिरताको बाटोमा दौडिनै रहेको छ । यो क्रम कहिलेसम्म हुने हो थाहा छैन । तर देशले भने ठुलो घाटा व्यहोरिरहेको छ । मुख्य रुपमा साना दलहरुले आफ्नो स्वार्थ अनुसार भागबण्डा खोजिरहेका छन् ।
राजनीतिक रुपमा हैसियत नभएका पार्टीहरुको भूमिका राष्ट्यि राजनीतिमा महत्वपूर्ण बन्दै गएको छ । यसले ठुला दल कमजोर बनिरहेका छन् । अब यसको विकल्प खोज्नै पर्दछ । मुख्य रुपमा कांग्रेस र एमालेले यसमा विचार गर्नुपर्दछ । मुलुकका दुई विपरित र प्रतिस्पर्धी दल भएपनि केही समय राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउने हो भने कांग्रेस र एमाले मिलेर सरकार बनाउँ र च्याखे थापेर सत्तामा पुगेका दलहरुलाई उनीहरुको हैसियतमा रहने अवस्था बनाइ देऊ । अब तत्कालका लागि यो भन्दा अर्को उत्तम विकल्प छैन । यदि एउटाले अर्कोलाई कमजोर बनाउने मात्रै रणनीति चालिरहने हो भने अन्तिममा देश,लोकतन्त्र र पार्टी सबै एउटै खाडलमा जाने दिन आउने छ छ । चेतना भयाँ ।