
पुकार समाचारदाता
दुईपिपल ः नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ का स्थानीय बासिन्दा तथा समाजसेवी रामहरि भुर्तेललाई हरेक दिन बिहान दुईपिपलमा रहेको प्रतिक्षालयमा नपुगेसम्म कुनै पनि दिन चित्त बुझ्दैन । उहाँ कुनै त्यस्तो अत्यन्त महत्वपूर्ण कामले रोकिए मात्रै हो, नत्र हरेक दिन उक्त प्रतिक्षालयमा जाने गर्नुहुन्छ । उहा भन्नुहुन्छ, यहाँ आएर गाउँघरमा साथीभाईसँग भेटघाट नगरे त खाना खान पनि मन लाग्दैन, कुनै दिन त्यहाँ पुग्न मिलेन भने दिन नै खल्लो लाग्छ । उहा त एउटा प्रतिनिधि प्राप्त मात्रै हो ।
साविक दुईपिपल गाउँविकास समितिको मुख्य केन्द्र हाल बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपिपल डबली आफैमा एक धार्मिक तथा ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । उक्त क्षेत्रको आफ्नै इतिहास रहेको छ । उक्त स्थानमा हरेक दिन दुईसयसम्म स्थानीयहरु जम्मा हुने गरेका थिए । तर आजभोलि मोटर बाटो र चोक चोकमा नै चिया पसल तथा बजार खुल्न थालेपछि भने केही कमी भएको छ । तर पनि गाउँका तथा केतैबाट आफ्नो गाउँघर पुगेका युवा युवतीहरु आफ्नो दैनिकी एक पटक दुईपिल पुगेपछि मात्रै सुरु गर्दछन् ।
चाडबाडमा त यहाँ निकै रमाइलो हुन्छ स्थानीय भिम नारायण श्रेष्ठ भन्नुहुन्छ । दुईपिपल दाहालथोकमा ८६ वर्षीय हरिप्रसाद दाहाल हरेक दिनजसो दुईपिपल आउने गर्नुभएको छ । उहा भन्नुहुन्छ, घरमा एक्लै बस्न च्याउँतो लाग्छ यहा आएपछि गाउँघरमा दाजुभाई भेटिन्छ अनि देश विदेशका कुरा सुन्न पनि पाइन्छ । दुईपिपल डबली पछिल्लो समय साँघुरिदै गएपछि त्यहा जम्मा हुने र घेटघाट हुने क्रममलाई असहज हुँदै गयो । स्थानीयहरुको सुझावका आधारमा वडा नं ५ का तत्कालिन वडा अध्यक्ष अनन्त नेपालको सक्रियतामा अहिले सोही स्थान नजिकैको चोकमा प्रतिक्षालय निर्माण गरिएको छ । उक्त प्रतिक्षालयमा हरेक बिहान ३० देखि ५० जनाको सहभागिता हुने गरेको छ ।
अधिकांश बुढापाकाहरु उक्त प्रतिक्षलयमा आउने र बिहान आफ्ना गाउँघरका कुरा गर्ने हासी मजाक गर्ने, देश विदेशका कुरा सुनाउने र सुन्ने गर्ने गरेको स्थानीय श्यामलाल श्रेष्ठले नुवाकोट पुकारलाई बताउनुभयो । युवा जमातहरु स्मार्ट फोनमा व्यस्त हुँदै गर्दा घरमा बुढापाकाहरु भने यसरी गाउँघरको चौतारामा र प्रतिक्षालयमा जम्मा भएर आफ्ना सु दुःख साट्ने गर्दा त्यहाँ सुन्ने युवाहरुको संख्या पनि बाक्लै हुने गरेको छ । बेलकोटगढी वडा नं ६ का युवा अमृत नेपालले आफू घरमा भएको बेला हरेक दिन दुईपिपल आउने र बुढा हजुरबा बा हरुको कुरा सुन्ने बताए । उनले पुराना कुरा सुन्दा पनि छुट्टै आनन्द दिने भन्दै गाउँघरको सौन्द्रयता भनेको नै यहि भएको बताए ।
अझ रमाइलो त कोही नयाँ मान्छे आयो भने वा काही गाउँमा युवाहरु जो समाजिक अभियानमा सक्रिय भएकाहरु राजधानीबाट गाउँमा पुग्यो भने उनका कुरा सुन्ने र सुनाउनेहरुको संख्या पनि त्यतिकै थपिदै जाने गर्दछ । विशेष त्यस समय गाउँका कुरा भन्दा पनि राजनीतिसँगै देश विदेशका कुरा हुने गर्दछ ।
लामो मसय राजधानी बसेर आफ्नो गाउँ फर्कनु भएको घिमिरे थोकका स्थानीय गोपी घिमिरे भन्नुहुन्छ, शहर बजारको कोलाहाल भन्दा हामी जस्ता पाका मानिसहरुका लागि गाउँघर नै रमाईलो लाग्छ । पछिल्लो समय गाउँमा युवाहरुको संख्या कम हुँदै गएको बेला चोकहरुमा यस्तै पाका बुढा बा आमाहरुको जमघटले पनि गाउँको सौन्र्दय र महोत्वलाई भने थोरै भएपनि थेक्न सकेको देखिन्छ । मुलुक संघीयतामा गएसँगै गाउँको विकासले फाड्को मारेको छ । बिजुली, पानी, स्वास्थ्य चौकी, सडक व्यवस्थित बजार सबै कुराले प्रयाप्त भएपनि युवाहरु शहर तथा विदेश पलायन हुँदा जनशक्ति कम हुँदै गएका बेला यस्तै प्रतिक्षालय र चौतारमा हुने जमघटले गाउँघरको सौन्र्दय र महत्वलाई धानेको देखिन्छ ।