
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राख्नुभएको छ ।
एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राख्नुभएको हो ।
यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उहाँले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिनुभएको एएनओका महासचिव चुडामणि भट्टराइले जानकारी दिनुभयो ।
अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरूले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरू लाग्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
उहाँले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपाली भाषीहरूलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाउनुभयो ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराउनुभयो । उहाँले विश्वका विभिन्न देशमा रहेका नेपाली भाषीहरू एक पटक यहाँ पुग्नै पर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनु पर्नेमा उहाँको जोड थियो ।
एएनओका अध्यक्ष डिल्ली अधिकारीले यस अभियानका लागि नेपाल सरकारबाट प्राप्त सहयोग र शुभेच्छाका लागि धन्यवाद व्यक्त गर्दै अभियानलाई नेपाली भाषा, कला, संस्कृतिको अभियानका रूपमा संसारमा रहेका नेपालीमाझ पुर्याउने अठोट व्यक्त गर्नुभयो ।
यस संस्थाले प्रवासमा बस्ने नेपाली जातिका लगानीकर्ताहरूलाई नेपालमै आई लगानी गर्ने वातावरणका लागि प्रोत्साहित गर्ने पनि बताउनुभयो ।
सो भेटमा संस्थाका उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुशील कुमार पन्त, महासचिव भट्टराई, संस्थापक सदस्यहरू केबी कार्की, ओम गुरुङ, डा दामोदर पौडेलसहित सहभागी हुनुहुन्थ्यो ।
विश्वका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली भाषीको गत चैत ६ गते थाइल्याण्डको राजधानी बैंककमा भएको भेलाले नेपाली जातिलाई एकीकृत गरी नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) गठन गरेको थियो ।
विश्वका २७ देशका नेपालीमूलकका सामाजिक अभियन्ताको प्रतिनिधित्व रहेको सो भेलाले भुटानमा जन्मी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका नेपालीमूलकका समाजसेवी डिल्ली अधिकारीको अध्यक्षतामा ५४ सदस्यीय कार्यसमिति गठन गरेको थियो ।रेडियो नेपालबाट