
काठमाडौं, वैशाख ३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ प्रमुख घटक नेकपा एकीकृत समाजवादी पार्टीको निर्णयमा आपत्ति जनाउनुभएको छ । आज सोमवार पार्टी संसदीय दलको बैठकमा बैठकमा बोल्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने निर्णयमा नेकपा एसले चालेको कदम अराजनीतिक भएको आरोप लगाउनुभयो । उहाले काँग्रेसनजिक भएर सत्ता समीकरणलाई कमजोर बनाउने काम भएको भन्दै उहाले सुदूरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रित समीकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भएको आरोप लगाउनुभयो ।
काँग्रेसलगायतका विपक्षहरुको आशा पलाउने तथा जनतामा आशङ्का, अन्योल र निराशा केही मात्रामा भए पनि पैदा हुनेगरी नेकपा ९एस० ले सो निर्णय लिएको अध्यक्ष ओलीले बताउनुभयो । कम्युनिष्ट साइनबोर्ड राख्ने, नेकपा राख्नु अगाडि र काम अरुको हितमा गर्ने र समाजवादको पक्षधरलाई कमजोर पार्नेखालको भूमिका सो दलको देखिए पनि आफ्नो पार्टी समाजवाद प्राप्त गर्ने लक्ष्यसाथ मिसन २०८४ लाई सफल पार्न लागिरहने उहाँले चर्चा गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ । एसले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने भन्यो, हाम्रो समीकरणलाई असफल बनाउन नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत भयो । यो गलत छ ।’ सही दिशामा राजनीति फर्किंदै थियो, नेकपा एसले फेरि गलत निर्णय गर्न पुग्यो उहाँले भन्नुभयो, ‘अहिले यतिबेला आन्तरिक रुपमा विपक्षीहरुको आशा पलाउने गरी जनतामा आशङ्का, अन्यौल र निराशा पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो ।’ अध्यक्ष ओलीले एमालेको ध्यान आगामी निर्वाचनमा बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने रहेकाले त्यसलाई सफल बनाउन लागिपर्ने प्रष्ट पार्नुभयो ।
सो अवसरमा अध्यक्ष ओलीले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदहरुलाई सचेत गराउनुभएको छ । पार्टी संसदीय दलका नेता अध्यक्ष ओलीले पार्टीको प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्र सांसदहरुले विभिन्न कार्यक्रममा जानसक्ने बताउनुभयो ।
विगतमा सांसदहरुले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेश गर्दै त्यसो हुन नदिन पनि सांसदहरुले पार्टी संसदीय दलको परामर्शमा मात्र विदेश जान उपयुक्त हुने ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले सहकारीलगायतका ठगीमा नफस्न पनि पार्टीका सांसदहरुलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘समितिका बैठकमा हाम्रो भूमिका अफसेन्ट होइन, अफसेन्टको कारण चाहिन्छ । सांसदहरु कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्छ । विना इजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरौं ।’ अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने पनि बताउनुभयो । पछिल्लो समय सुदुरपश्चिम प्रदेश सरकार गठनका विषयमा सत्ताधारी दलबीच विवाद भएको छ । एमाले र माओवादीले एउटा उम्मेदवारलाई समर्थन गरिरहँदा नेपाली कांग्रेस र समाजवादीले अर्का उम्मेदवारलाई समर्थन गरेका छन् । उक्त निर्णयले केन्द्रीय सरकारलाई पनि धक्का लाग्ने देखिएको छ ।