नुवाकोट, वैशाख २८ । नुवाकोटको शिवपुरी गाउँपालिकामा पहिलोपटक पशुमा अत्याधुनिक भिडियो एक्सरे प्रविधि प्रयोग गरिएको छ ।
गाउँपालिकाले सञ्चालन गरेको “शिवपुरी कृषि रुपान्तरण परियोजना” अन्तर्गत गाई तथा भैँसीमा देखिने बाझोपन समस्या पहिचान तथा समाधानका लागि भिडियो एक्सरे सेवा सञ्चालन गरिएको हो ।
शिवपुरी गाउँपालिकाको आर्थिक सहयोग, कार्सन नेपाल को समन्वय तथा हेफप्रोजेक्ट इन्टरनेसनल को प्राविधिक सहयोगमा सञ्चालन भएको परियोजनाले स्थानीय किसानलाई प्रत्यक्ष लाभ पुग्ने गरी विभिन्न कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
गाउँपालिकाले कृषि, पशुपालन र पर्यटन क्षेत्रलाई आधुनिक प्रविधिसँग जोड्दै स्थानीय उत्पादन वृद्धि गर्ने उद्देश्यले परियोजना सञ्चालन गरेको जनाएको छ । परियोजनामार्फत कृषकलाई कृषि सामग्री, बीउबिजन, बोका तथा बाख्रा वितरण, गोठ तथा खोर निर्माण सहयोग, तरकारी तथा अकबरे खेतीमा सहजीकरण लगायतका कार्यक्रम सञ्चालन गरिएका छन् ।
त्यसैगरी खोरेतजस्ता महामारीजन्य पशुरोग नियन्त्रणमा गाउँपालिका र प्राविधिक टोलीले समयमै हस्तक्षेप गरी किसानलाई राहत दिएको बताइएको छ ।
यसैबीच, दुग्ध उत्पादनका लागि पालिएका गाईभैँसीमा देखिने बाझोपन समस्या समाधान गर्न भिडियो एक्सरे प्रविधि प्रयोग गरिएको हो । उक्त प्रविधिमार्फत पशुको पेटभित्रको भ्रूणको अवस्था, गर्भ विकासको चरण तथा अन्य प्रजननसम्बन्धी समस्या सहज रूपमा पहिचान गर्न सकिने जनाइएको छ ।
लामो समयदेखि बहर नलाग्ने समस्या भएका पशुको परीक्षणका लागि बागमती प्रदेशका वरिष्ठ पशु चिकित्सक डा. बब्लु ठाकुर, डा. राजेन्द्र ढकाल र डा. आयुष अधिकारी सहितको टोली किसानका गोठ–गोठमै पुगेर सेवा प्रदान गरेको थियो ।
प्राविधिक टोलीका अनुसार यस्तो अत्याधुनिक भिडियो एक्सरे प्रविधिको प्रयोग स्थानीय तहसम्म विस्तार गर्न सके पशुमा देखिने बाझोपन समस्या उल्लेखनीय रूपमा घटाउन सकिनेछ ।
शिवपुरी गाउँपालिकाले नमुना कार्यक्रमका रूपमा सुरु गरेको यो अभियान सफल भए अन्य स्थानीय तहले समेत अपनाउन सक्ने विश्वास गरिएको छ ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्