
सम्पादकीय

हाम्रो देश कृषिप्रधान देश हो । हाम्रा पिता पुर्खाहरुको जीवन सञ्चालनको मुख्य स्रोत कृषि पेशा नै थियो । सरकारकी तथ्यांक अनुसार पछिल्ला दिनमा पनि झण्डै ८० प्रतिशत जनसंख्या कृषि पेशाप्रति नै आश्रित रहँदै आएको छ । तर पनि यो पेशाप्रतिको आम लगाब र आस्था कर्मश ः घट्दो अवस्थामा छ । गाउँघरमा केही सिमित खेती किसानी गर्ने समूहबाहेक अन्य युुवा युवतीहरु गाउँमा भेटिदैनन् । स्कुले शिक्षा सकिने वित्तिकै अध्ययनका नाममा होस् वा रोजगारीका नाममा अधिकांशहरु शहरतर्फ केन्द्रीत हुन्छन् । कृषि कर्मका लागि विगत जस्तो छैन । अहिले धेरै कुरा हामी मेसिनबाट गर्न सक्ने भएका छौं । प्रविधिका कारण हामीलाई कृषि पेशा गर्न पनि धेरै सजिलो बनाइदिएको छ । यति हुँदा पनि हामी विदेशमा जस्तो काम गर्न पनि जान्छौ तर स्वदेशमा खेती गर्न अप्ठेरो मान्छौं । धेरैका लागि यो बाध्यता रहेको छ भने थोरै रहरले पनि शहर पस्ने गरेका छन् । जसको जे कारण भएपनि हाम्रो कृषि प्रधान देश र हाम्रा उर्वर भूमिहरु बाँझिदै जान थालेका छन् । । हामी परनिर्भर हुन थालेका छौं ।
हाम्रा लागि यो अत्यन्त दुःखदायी विषय हुन् । देश छाड्ने र गाउँ छाड्नेहरुको लर्को लागिरहेका बेला नुवाकोटका केही युवाहरुको कृषि कर्मप्रतिको सक्रियता पक्कै पनि लोभलाग्दो देखिन्छ । यो त प्रतिनिधिपात्र मात्रै हुन । यस्ता धेरै युवाहरु पछिल्लो समय कृषिप्रति आकर्षित हुँदै गैरहेका छन् । गत हप्ता हामीले प्रकाशित गरेको समाचार र यस्ता अन्य युवाहरु जो अन्य सञ्चारमाध्यममा समाचार बनेका छन् उनीहरुको व्यवसायिक कृषि खेतीले धेरैको मन लोभिएको छ । उनीहरुले स्पष्ट रुपमा सन्देश दिन सकेका छन्,गरे के हुँदैन ।
हामीले कृषि कर्म छाड्नुका धेरै कारणहरु छन् । हामी हाम्रा उर्वर भूमिहरु छाडेर विदेशमा सामान्य काम गर्न परिवार नै छाडेर गएका छौं । अध्ययन पूरा गरेपछि माटोसँग खेल्नु हुँदैन भन्ने हाम्रो मान्यता परम्परागत रुपमा विकास भएका छन् । जसलाई व्यवसायिक रुपमा खेती गर्ने जमिन छैन वा आफ्नो सम्पत्ति छैन उनीहरुले विकल्प खोज्न स्वभाविक भन्न सकिएला तर जोसँग प्रयाप्त मात्रामा जमिन छ उनीहरु पनि आफ्नो खेतबारी बाँझो राखेर पलायन हुनेक्रम बढिरहेको छ ।
विदेश जानु हुँदैन भन्ने होइन तर फर्केर पनि हामी कृषिलाई वास्ता गदौंनौ । आफ्नो खेतबारी बाँझो राखेर किनेर खान्छौं । यसमा हामी मात्रै दोषी छैनौं । राज्यले कषि क्षेत्रलाई व्यवस्थित बनाउन नसकेर नै हो हाम्रो अल्छिपना बढेको । किसानले भनेको बेलामा न त बिउ पाउने गरेको छ, बिउ पाए मल पाउँदैन, मल पाए र उत्पादन भए बजार पाउँदैन । यि यावत कारणले कृषिप्रतिको आकर्षण घट्दै गएको हो भने राज्यले साच्चिकै कृषि क्षेत्रको विकास गर्ने हो भने व्यवसायिक रुपमा लागेका किसानहरुलाई संरक्षण गर्ने, खेती गर्न चाहानेहरुलाई प्रोत्साहन गर्ने र बजारको उचित व्यवस्था मिलाउनेतर्फ ध्यान दिनुपर्दछ । सहि रुपमा किसानका समस्या समाधान हुने हो भने केही उदाहरण बनेका युवाहरु जस्तै सिंगो देशलाई कृषि कर्मप्रति पनि आकर्षिक गन सकिन्छ । सम्बन्धित पक्षको चेत खुलोस् ।