
प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रद्दुविर महाशेठले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्यास गर्नुहुँदै । तस्बिर : प्रदिपराज वन्त / रासस
ठमाण्डौ – पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवन नारायणगढको नारायणी नदीमा बन्ने आधुनिक नयाँ पुलको शिलान्यास भएको छ । चितवनको भरतपुर महानगरपालिका र नवलपरासी बर्दघाट सुस्तापूर्व गैँडाकोट नगरपालिका जोड्ने नयाँ पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताउनुभयो । सूचना प्रविधिको विकाससँगै विकासको परिभाषा, आवश्यकता र प्राथमिकतामा फेरबदल आएको भन्दै उहाँले देशव्यापीरूपमा सडक सञ्जालको विस्तार भएसँगै आउने दिनमा गुणस्तरता एवम् दिगोपनलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।
सडक विभागको पुल महाशाखाका डिभिजनल इन्जिनियर एवम् पुलको योजना प्रमुख कृष्ण अधिकारीकाअनुसार पछिल्लो प्रविधि प्रयोग गरी आधुनिक ‘केबल स्टेट ब्रिज’ बनाउने तयारी छ । पुल चार सय २० मिटर लामो हुनेछ । जम्मा चार वटा पिल्लर रहने पुलको मुनिबाट ठूला डुङ्गा आवतजावत गर्न मिल्ने गरी बनाइने उहाँले बताउनुभयो ।
पुलको दुई ठाउँमा टावर राखिने छ । पुल १२ मिटर फराकिलो हुनेछ । बीचमा साढे सात मिटर फराकिलो सडक रहनेछ भने उत्तरतर्फ बाँकी भागमा फराकिलो फुटपाथ हुनेछ । जहाँ साइकलसमेत चलाउन सकिने उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्रमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरेको छ ।
पहिलो एक वर्ष डिजाइन समय हो भने बाँकी तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार डिजाइनको काम करिब सकिएको छ । अहिले भएको नारायणीको पुल २०३८ सालमा बनेको हो । यो पुलमा १४ वटा पिल्लर छन् । भारतीय ठेकेदार कम्पनीले निर्माण गरेको नारायणी नदीको अहिलेको पुल पुरानो र साँघुरो छ । यसैसँग जोडेर उत्तरतर्फ नयाँ पुल बनाउन लागिएको हो ।
उज्योलो रेडियो