
फाइल तस्बिर
काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते सोमवार विश्वासको मत लिने हुनुभएको छ । जनता समाजवादी पार्टी जसपा नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो । यसअघि कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते तेस्रो पटक विश्वासको मत लिनुभएको थियो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेतृत्वको पार्टीले समर्थन फिर्ता लिएपनि अशोक राईको नेतृत्वमा गठन भएको जसपाले भने सरकारलाई दिएको समर्थन जारी राखेको छ । राई पक्षसँग सात जना सांसद रहेका छन् भने यादव पक्षसँग जम्मा पाँच जना सांसद मात्र बाँकी रहेका छन् ।
सरकारलाई बहुमतका लागि १३८ मत आवश्यक पर्दछ । जसपाका पाँच सांसदले फिर्ता लिएपनि अन्य दलहरुले अविश्वास नगरेसम्म सरकारलाई सुविधानजनक बहुमत प्राप्त भएकाले सरकार तत्काल अप्ठेरो अवस्थामा पर्ने देखिदैन ।