
काठमाडौं । हिजोको राजनीति घटनाक्रम र अवको रणनीतिका विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकका अनुसार आज अहिले बिहान ९ बजेका लागि बैठक आह्रवान गरिएको छ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक हुने प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो ।
सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा आजै बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुने संसदीय दलको कार्यालयले जनाएको छ । साथै प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको घटनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सांसदहरुले बेल घेराउ र नाराबाजी गरिरहेका बेला सभामुखले नियमित कार्यसूचीमा प्रवेश गरी उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिनुभएपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल भएको थियो ।कांग्रेसले उक्त घटनाप्रति दुःख व्यक्त गदै त्यसको जिम्मेवार सभामुख भएको दावी गरेको छ ।
हिजो पार्टी महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्दै सो दावी गर्नु भएको थियो । तर एमाले र रास्वपाको सांसदहरुले भने कांग्रेसले संसदमा गैर जिम्मेवार व्यवहार देखाएका भन्दै माफी माग्नुपर्ने बताउँदै आएका छन् । हिजोको उक्त घटनापछि सत्तापक्ष र प्रतिपक्षबीच कुनै छलफल भएको छैन ।सत्ता पक्ष र प्रतिपक्षको आआफ्नै अडानका कारण केही दिनदेखि संसद बन्धक बनिरहेको छ ।
कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री समेत दोषी देखिएको भन्दै छानविनका लागि संसदीय समिति बनाउनु पर्ने माग गर्दै आएको छ । तर सत्ता पक्षले त्यसलाई स्वीकार गरेका छैनन् ।