
फाइल तस्बिर
काठमाडौँ । मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको संसदीय छानविन समिति गर्नुपर्ने मागप्रति अन्य विपक्षी दलहरुले पनि समर्थन जनाएका छन् । नेपाली कांग्रेसको आयोजनामा आज बसेको प्रतिनिधि सभामा विपक्ष दलहरुको बैठकले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय छनबिन समितिको मागमा एकमत हुने निर्णय गरेकोहो ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा कांग्रेससँगै राप्रपा, जसपा नेपाल र लोसपाका नेताहरु सहभागी भएका थिए । बैठकमा जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव , राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही, लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए ।
त्यस्तै नेपाली कांग्रेसबाट उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगनकुमार थापा र पार्टीका नेता डा. शशांक कोइराला पनि सहभागि हुनुहुनथ्यो । विपक्षी दलहरुको बैठकले सभामुखलाई बिहीबारको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ । बिहिबार विपक्षी दलको अवरोधकाबीच पनि सभामुखले संसद सञ्चालन गर्न खोजेपछि केही समय धकेलाधकेलको अवस्था समेत सिर्जना भएको थियो ।
उता आजै बसेको कांग्रेस दपाधिकारी बैठकले हिजाको घटना सभामुखका कारण भएको निश्कर्ष निकालेको छ । बैठकले देशभरका सहकारी पीडितहरुको पक्षमा उठाइएको आवान जारी रहने कांग्रेसले उठाएको संसदीय छानविन समितिको अडानबाट पछि नहट्ने निर्णय पनि गरेको छ ।