
शुकदेव दाहाल
विश्वको नै दोस्रो ठूलो अर्थतन्त्रको विकास गर्न सफल भएको देश चीन हो । हामी चीनको एक असर छिमेकी मित्र पनि हौं । सदियौंदेखि चीनसँगको हाम्रो सम्बन्धमा त्यस्तो धेरै उतार चढात त आएको छैन तर कतिपय प्राविधिक र भौगोलिक विषयका कारण हामीले त्यसलाई सहि रुपमा प्रयोग गर्न पाएका छैनौं वा सकेका छैनौं । हामीसँग दुई ओटा ठुला देश जोडिएका छन् । उत्तरतर्फ चीन छ भने दक्षिणतर्फ भारत जोडिएको छ । भारत हाम्रा लागि झन एउटा घनिष्ट छिमेकी देश हो ।

खुला सिमाना, रोटीबेटीको सम्बन्धका कारण भारतसँग हाम्रो सम्बन्ध धेरै नजिकको छ । दुई देशबीचको यहि सम्बन्धका कारण नेपाल र भारतबीच सहकार्य, सहयात्रा,सहयोगी भावना सबै विकास हुँदै आएको छ । हामी धेरै कुरामा भारतसँग जोडिएका छौं त्यसकारण पनि नेपाल र भातबीच कुनै बेला सम्बन्धमा आएको तितोपनाले गर्दा हामीलाई धेरै हानी पनि पुर्याएको छ । नाकाबन्दी, भारतमा बढ्ने मंगही,नक्कली नोट,सुरक्षाका हिसाबले हामी एकअर्काप्रति जोडिएका छौं । कुनै बेला भारतले सानो मुलुक भनेर नाकाबन्दी लगाउँदा हामीले धेरै दुःख पाएका छौं र त्यसको समाधान पनि आपसी सहमतिमा नै हुँदै आएको छ । यस अर्थमा भारत हाम्रो एक मित्र हो,जोसँग कहिले मिठो त कहिले नमिठो सम्बन्ध छ तर हामी नजिक छौं । यो अवसर हामीले चीनसँग पाएका छैनौं । यसको मुख्य कारण भौगोलिक कारण हो ।
अर्को भाषगत कारणहरु पनि छन् । तर पनि चीनले हामीलाई एक असल मित्रको रुपमा भने व्यवहार गर्दै आएको छ । यहि मित्रताको भावनालाई थप प्रगाढ बनाउने र एक आपसमा सहकार्य गर्ने भावनाकासाथ शनिबारदेखि औपचारिक रूपमा नेपाल र चीनबिचका १४ वटा नाका खुला भएका छन् । जुन कुरा हाम्रा लागि वास्तवमै सकरात्मक विषय हो । त्यस भेगका नागरिकले सिमा नाका बन्द हुँदा व्यहोनु परेको सास्ती हामीले देखेका छैनौं तर कल्पना गर्न सक्छौं
भौगोलिक जटिलताका कारण चीनसँगको व्यापार वृद्धिले मुलुकमा आर्थिक क्रान्ति नै ल्याउँछ भन्ने होइन । सम्भव भएसम्मका सीमानाका निर्बाध रूपमा खुला गरिँदा अहिले देखिएको भारतसँग मात्रको निर्भरतालाई भने पक्कै पनि कम गर्न भने सक्छ । पछिल्लो पटक कोरोना सङ्क्रमणपछि बन्द भएका मध्ये केरुड. नाकामात्रै सञ्चालनमा आएको थियो । त्यसपछि दुई वर्ष अघि तातोपानी नाका खुलेको छ तर त्यो पनि अझै सहज भएको छैन । अहिले खुलेका १४ वटा नाकाबाट पनि हामीले केही व्यवयायिक उपलब्धी प्राप्त गर्न सक्छौं । स्थानीयका साथै व्यापारिक क्षेत्रमा उत्साह वृद्धि भएको छ । चीनतर्फका बन्द रहेका नाका खुलाउन सरकारले लामो समयदेखि कूटनीतिक पहल गर्दै आएको थियो ।
गत वर्ष भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमण तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठद्वारा गरिएको भ्रमणका क्रममा नेपाल–चीन सीमा क्षेत्रमा रहेका सम्पूर्ण परम्परागत व्यापारिक नाका क्रमशः खुलाउने समझदारी भए अनुसार नै यी नाका खुला गरिएको हो । विसं २०७६ देखि बन्द गरिएका नाका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ र चीनको तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाङ निमाले तिब्बतको छेन्ताङमा शनिबार आयोजित समारोहमा पुनः सञ्चालनमा आएको घोषणा गर्नुभएको हो ।
१४ नाकामध्ये किमाथाङ्कासहित सात वटा नाका शनिबारदेखि नै खुलिसकेका र बाँकी सात वटा नाका उपयुक्त समयमा खुल्ने घोषणा गरिएको छ । केही नाका मौसम र भौगोलिक असहजताका कारण आफ्नै परम्परागत तालिकाबमोजिम सञ्चालनमा आउने बताइएको छ । अहिले खुला भएका नाकाहरूमा सङ्खुवासभा, दार्चुला, डोल्पा, मुस्ताङ, गोरखा, दोलखा र ताप्लेजुङ जिल्लासँग सीमा जोडिएका नाका हुन् । यी नाका बन्द रहँदा स्थानीयले निकै ठुलो कठिनाइ अनुभव गरेका थिए ।
अब भने सीमाक्षेत्रको दैनिक जीवन पक्कै पनि सहज हुने छ । त्यतिमात्रै होइन हामीले अब राजश्व संकलन, व्यापार विस्तार, रोजगारी सिर्जना लगायतका धेरै लाभ लिन सक्छौं । चीनले नेपालका लागि र सिमा जोडिएका नेपाली नागकिरका लागि चीन प्रवेशमा केही सहजता त बनाइदिएको छ तर त्यतिले मात्रै भने पुग्ने देखिदैन् । दुबै देशको सुरक्षालाई ध्यान दिएर यसलाई अझ सहज बनाउन सकियो भने चीनसँग व्यापारिक रुपमा पनि हामीले लाभ लिन सक्छौं । यसतर्फ नेपाल सरकारले गम्भीरताकासाथ ध्यान दिन सके नेपालले आर्थिक रुपमा केही लाभ लिन सक्ने देखिन्छ ।