
सम्पादकीय
नेपालमा गणतन्त्र स्थापना भएको १६ औं वर्ष पूरा भएको छ । नेपाली जनताले २०६२।०६३ सालमा जनआन्दोलन र जनयुद्धको बलमा राजतन्त्रको अन्त्य गर्दै मुलुकमा विधिवत रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको थियो । जनप्रतिनिधिबाट संविधान बन्नु र वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य गरेर जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत निर्माण गर्दै देशलाई ऐतिहासिक रुपमा गणतन्त्रमा प्रवेश गराइएको दिनलाई हामीले गणतन्त्र दिवसका रुपमा मान्दै आएका छौं ।
जनयुद्ध र जनआन्दोलनको जगमा २०६४ सालमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते दुई सय ४० वर्ष लामो शाहवंशीय राजा परम्पराको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा गरेको थियो । सोही संविधानसमा मार्फत निर्माण भएको नेपालको संघीय व्यवस्था अनुसार मुलुकमा आम निर्वाचनमार्फत तीन तहको सरकार क्रियाशिल रहेको छ भने जनताका अधिकार सिंहदरबारबाट गाउँ गाउँमा पुर्याइएको छ ।
मुख्य रुपमा देशलाई समावेशिता, संघीयता कार्यान्वयन, आर्थिक विकास, शान्ति सुरक्षा र सुशासन, ऊर्जा विकास, पूर्वाधार विकास, वन तथा वातावरण, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास जस्ता महत्वपूर्ण विषयहरु समान ढंगले आम नागरिकको पहुँचमा पुर्याउन सक्नु नै गणतन्त्रको मुख्य विशेषता हो । देशमा गणतन्त्र आएको दुई दशकको हाराहारीमा पुग्न लाग्दै गर्दा यस्ता धेरै उपलब्धिहरु आंशिक रुपमा हात पारिसकेका छौं । तर यतिधेरै मात्रै हाम्रो गणतन्त्र बलियो भएको छैन र हुँदैन पनि । हुनुपर्ने र गरिनुपर्ने धेरै कामहरु हुन नसक्दा आम नागरिकमा गणतन्त्रप्रति विश्वास र आस्था घटिरहेको अवस्था छ । संघीयता विरोधीहरु यस्ता कतिपय विषयलाई लिएर देशमा लोकतन्त्र आवश्यक छैन भनेर सार्वजनिक रुपमा सक्रिय हुँदै गैरहेका छन् । उनीहरुका स्वरहरु क्रमश ः बाक्लो बन्दै जान थालेको छ । यसले कतै संघीयता नै धरापमा पर्ने त होइन भन्ने शंकाहरु सुरु हुन थालिसकेको छ । यो अवस्थाकाबीच हामीले धेरै काम गर्न बाँकी छ । यसअर्थमा गणतन्त्रलाई संस्थागत गर्न नै बाँकी छ ।
संघीयता अनुसारको तहगत व्यवस्था कार्यान्वयनका लागि धेरै कानुनहरु अपुग रहेका छन् । व्यवस्थापिका संसदबाट ति कानुनहरु निर्माण हुन सकिरहेको छैन । प्रहरी ऐन, शिक्षा ऐन, निजामती ऐनहरु जस्ता दर्जनौं महत्वपूर्ण उेनहरु बन्न नसक्दा यसले संघीयता कार्यान्वयनमा निकै ठुलो प्रभाव पारिरहेको छ । यस्तै विकास र समृद्धिको नारा पनि नारामा नै सिमति हुन पुगेको छ । संविधान अनुसार समावेशी र समानुपातिक निर्वाचन प्रणालीका कारण कुनै पनि दललले बहुमत ल्याउन नसक्ने अवस्थाका कारण संसद सर्वदलीय रुपमा गठन हुँदै आएको छ र सरकार पनि त्यहि अनुसार गठन हुँदै आएको अवस्था छ । यसले राजनीति अस्थिर बनिरहेको छ ।
पछिल्लो पटकको उदाहरण लाई मात्रै हेर्ने हो भनेपनि प्रधानमन्त्रीले दुई वर्षको बीचमा पाँच पटक विश्वासको मत लिईसक्नु भएको छ । यसले सरकार कतिबेला ढल्छ भन्ने मनोवैज्ञानिक रुपमा समाज छ । राजनीतिक दलहरु नि यसको मौका छोप्दै सत्ता र शक्तिका लागि जे पनि गर्न तयार छन् । वर्तमान सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा १२ सिट भएको जसपा विभाजनको अवस्थामा पुग्यो । यस्ता धेरै अरु पनि घटना भैसकेका छन् । यसले न त दलहरु बलियो , न त सरकार बलियो , यो अवस्थाका कारण देश नै कमजोर बनिरहेको छ । गरिबी र सार्वजनिक ऋणहरु थपिरहेका छन् । यि तमाम विषयलाई सम्बोधन गरेर देशलाई सहि बाटोमा अघि बढाउने जिम्ेमवारी र दायित्व दलहरुको नै हो ।
जबसम्म दलहरुबीच आपसी एकता र सहकार्यको वातावरण बन्दैन तबसम्म देश बन्न सक्दैन भन्ने पुष्टि भैसकेको छ । हामीले यस्ता प्रतिकुल परिस्थितिकाबीच मंगलबार १७ औं गणतन्त्र दिवस मनाएका छौं । अब हामीले देशलाई एकतावद्ध ढंगले अघि बढाउने प्रण गरेर गणतन्त्रलाई संस्थागत रुपमा बलियो बनाउँन लागौं । तबमात्र गणतन्त्र दिवस मनाउनुको सार्थकता रहनेछ । १७ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण देशबासीमा हार्दिक शुभकामना ।