
काठमाडौं । आफ्नो अभियान रोकिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले पूर्व प्रधानमन्त्री समेत रहनु भएको एमाले अध्यक्ष ओलीप्रति कडा आक्रोश मात्रै पोखेका छैनन् , कडा टिप्पणी समेत गरेका छन् । बालेनले भनेका छन्, ‘१० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू।’

उनले लेखेका छन्, ‘झापा गिरिबन्धुमा बैना लिनेहरूलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं भनेर थम्थमाउनु भएछ। गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन।’
मेयर बालेनले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा महानगरपालिकाले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउन लागेको पनि आरोप लगाएका छन्।
‘अब बल्ल देश बन्ने भएछ। आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला। हामी साथमा छौं।’
उनले समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्न चेतावनी दिँदै कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला भन्दै लेखेका छन्, ‘हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद।’ उनले आक्रोस पोख्नुको मुख्य कारण भनेको काठमाडौं वडा नं २४ मा पर्ने नयाँ सडक न्यूरोडमा पैदल यात्रु हिड्ने बाटो बढाउन थालेको आफ्नो अभियानमा शहरी विकास मन्त्रायले रोकपछि बालेन ओलीप्रति आक्रोसित हुन पुगेका हुन ।
बालेनले यसअघि शहरी विकास मन्त्रालयले बालाजु महाराजगन्ज सडक निर्माणमा ढिलाई गरेको र नागरिकलाई धुलो धुवामा बस्न बाध्य पारेको भन्दै दुई गाडी फोहोर मन्त्रालयमा लगेर खशाली दिएका थिए । त्यसको बदलमा मन्त्रालयले पछिल्लो समय उनको कामलाई अंकुश लगाएको हो ।
मन्त्रालयले बालेनको भत्काएको सडक आफै फुरे कालोपत्रे गरिरहेको छ । मेयर बालेनको यो अभियानलाई वडा अध्यक्षहरुले पनि साथ दिएको देखिदैन । कार्यपालिका बैठकमा नै यस विषयमा जानकारी नभएको भन्दै वडा अध्यक्षहरुले नै प्रतिवाद गरेको प्रत्यक्ष देखिएको थियो ।
पटक पटक सामाजिक सञ्जालमा लेखेर चर्चामा आउने गरेका बालेनको यो पटकको अभिव्यक्ति भने उनका लागि महंगो पर्ने देखिएको छ । यद्यपि एमाले वृत्तबाट यसको कुनै प्रतिक्रिया भने आइसकेको छैन ।