
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले भन्सार छलेर अवैध रुपमा ल्याइएको मल बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तिलक भारतीले दिनु भएको जानकारी अनुसार नुवाकोट जिल्लामा अवैध रुपमा भारतीय यूरिया मल ल्याई बढी मूल्यमा बेचबिखन भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट मातहत अस्थाई प्रहरी पोष्ट कोल्पुटार नुवाकोटको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा उत्तः सय बोरा मल बरामद गरेको हो ।

सोमबार बा ४ ख ३८६७ नम्बरको आईचर गाडीमा भन्सार छली गरी ल्याएको ५० बोरा भारतीय यूरिया मल र १७ गते ल ३ च २९१८ नम्बरको बोलेरो गाडीमा ल्याएको ५० बोरा यूरिया मल गरी १०० बोरा यूरिया मल बरामद गरिएको हो । बरामद गरिएको मल, मल बोक्न प्रयोग भएको सवारी साधन ( गाडी) र मानिसहरुलाई समेत आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुरमा बुझाईएको भारतीले जानकारी दिनुभयो । पछिल्लो समय कोल्पुटार नाकाबाट सजिलै यस्ता सामानहरु पास हुने गरेको समेत गुनासो बढ्दै आएको थियो ।
