
शुगिता शाह
सुगिता शाह

हरेक मानिसका लागि आफ्ना सन्तान प्रिय हुन्छन । मानिसले जीवनमा आर्जन गरेको सबैभन्दा ठुलो उपलब्धि र सफलता भनेको सन्तानहरूलाई सत्मार्गमा हिँडाउन सक्नु हो । मानिसले जतिसुकै धन दौलत र पद प्रतिष्ठा हासिल गरेपनि जीवन साथी र सन्तान बाट साथ सहयोग र सन्तुस्टि पाउन सकेन भने बाहिर जतिसुकै सानदारको जीवन बाचेपनि ऊ आफूलाई नितान्त एक्लो र निरीह सम्झन्छ । अत ः सन्तानप्राप्ति सुखद अनुभूति हो भने असल सन्तान बनाउनु हरेक आमा बुवाको जिम्मेवारी र असल बनाउन सक्नु चूनौती हो । वैदिककालमा परिवार नै सबैभन्दा ठुलो पाठशाल हुन्थ्यो घरमा हजुर बुबा,आमा देखि बुबा,आमा,काका मामा सबैले घरका बालबालिकालाई निरन्तर निती कथा र नैतिकताका कुराहरू सिकाउथे जसको कारण औपचारिक शिक्षा बिना पनि मानिसहरू परिवारप्रति जिम्मेवार र अनुशासित हुन्थे ।
सामाजिक प्रतिष्ठा मान मर्यादा कायम राख्नकै लागि भए पनि परिवारिक बिखण्डन हुने सम्भाबना कम हुन्थ्यो । बालबिबाह गरिने भएता पनि नारीले सानो उमेरमै पराई घर जानु परे पनि त्यहि घरलाई आफ्नो र प्यारो ठान्ने गरेकोले परिवारिक सद्भाव र ममता अलि बढिनै रहन्थ्यो । त्यो समय र परिस्थितिमा बाल विवाहका सकारात्मक पक्ष नै भए पनि आजको युग सम्म आईपुग्दा समय ,परिवेश र परिस्थिति बदलिएको छ , आफू , शिक्षित र सक्षम भएपनि छोराछोरीलाई सहिबाटोमा लगाउन नसकेर कतिपय अभिभावकहरू चिन्ताग्रस्त अबस्थामा रुमली रहेका छन । सामाजिक परिवेश ,सूचना प्रविधि र सामाजिक संजालको कारणले पनि कसैले चाहेर पनि सन्तानलाई आफ्नो बसमा राख्न नसक्ने अबस्था छ । त्यसका लागि समग्र समाजले नै गम्भिर भएर सोच्नु पर्ने अबस्था आएको छ ।
साच्ची के गर्दा बालबालिकालाई सहि मार्गमा लगाउन सकिन्छ ?
उनीहरूमा कडा नियन्त्रण र निगरानी राखेर वा लचकता अपनाएर ?
उनीहरुका सम्पूर्ण आवश्यकता पूरा गरिदिएर वा
अभावको अबस्था देखाएर ?
भौतिक सजाय र दण्ड दिएर वा नदिएर ?
सधैँ सम्झाउने वा गालि गर्ने वा नगर्ने ?
महंगो बिद्यालय पढाउने वा सस्तो ?
वास्तवमा ठ्याक्कै यस्तै गरेपछि बालबालिका सुन्छन् र राम्रा हुन्छन भन्ने अश्र चाहिँ छैन । वास्तवमा वारावरण र प्रकृति मिलेर एउटा बालक जन्मन्छ, हुर्कन्छ कतिबेला कुन कुराको प्रभाव बालकमा कसरी पर्छ अनुमान गर्न मुस्किल हुन्छ । तपार्इँ हामी केही बाहेक सबै जीवनमा आमा वा बुबा हुन्छौ जुन हाम्रो सौभाग्य र खुशीको कुरा पनि हो । हामी सबैलाई आफ्नो सन्तानलाई कस्तो बनाउने भन्ने आफँैलाई था छ जस्तो पनि लाग्छ ,तर कैंयन कुरामा हामी आफै चुकीरहेका हुन्छौंँ । जुन कुराको मनन आफुले गर्नुको साटो सबै दोष बालबालिका मा थुपार्छौं । बालबालिका किशोर अबस्था पुग्नु पुर्व त परिस्थिति केहि सहज नै हुन्छ जब तर बिस्तारै सन्तान हुर्कदै जान्छन् , हामीले भनेको सुन्न र मान्न छाड्छन । सम्झाउन खोज्यो उल्टै झर्कन थाल्छन अनि हामीमा पनि दिक्दारी र उदासिनता छाउँन थाल्छ ।
पाठबृन्द, म बालबलिकाको सबैकुरा थाहा पाउने मनोविद वा सर्वज्ञानी त होईन फेरि पनि बीस बर्ष भन्दा लामो माध्यामिक तथा उच्च शिक्षा अध्यापन गराउँदाको अनुभव, बुवा आमा गुमनएका नानीहरू साथमै राखेर धेरै नानीबाबुहरूको अभिभावक बनेर उनीहरूलाई हुर्काउँदाको अनुभव र आफैले जन्माएकाो छोरी हुर्काउँदाका गरेको अनुभब संगालेकी छु । जसका लागि थुप्रै पटक कहिले सहज कहिले अति असहज अनुभुती गरेकी छु। कैंयन अभिभावकले छोराछोरी पढेनन् , भनेको मानेन भनेर रुदै गरेका गुनासाहररू लाई चित्तबुझएर पठाएकी , आफ्नो छोरी डाक्टर बनोस् भन्ने चाहना बोकेकी म छोरीले अर्कै बिषय पढ्छु भन्दा सपना टुट्यो भन्दै म स्वयम् पनि कतिपटक रोएकी छु । अरूले जन्माएका सन्तानलाई बटुलेर शिक्षा र संस्कार दिन्छु भन्दा कैयन पटक यो जिम्मेवारी कसरी पूरा गर्ने भन्ने छटपटिले अनिदा रातहरू बिताएकी छु । फेरि पनि जीवनमा घटेका हरेक घटना र परिवेश र आफैले गरेको कर्मले आ–आफ्नै पाठ सिकाएका छन् । यहाँ हरूमाझ तिनै बिषयबस्तु र अनुभुतीहरू राखेर यहाँहरूलाई पनि केहि सहजता मिल्ला कि भनेर पस्कन चाहन्छु ।
सर्बप्रथम त र हाम्रा नानीबाबुहरू हाम्रा ऐना हुन् उनीहरू हामीले भनेजस्तो गर्दैनन् हामीले गरे जस्तै गर्छन् । रिसाउन, झर्किन, झुटो बोल्न हरेक बच्चाले सबैभन्दा पहिला अभिभावबकबाट सिक्दछन् । यदि तपार्इँ हामी असल अभिभावक बन्न चाहानु हुन्छ भने सबै भन्दा पहिला आफ्नो सन्तान को अगाडि श्रीमान् श्रीमती झगडा गर्न , लागुपदार्थ सेवन गर्न, झुटो बोल्न , डरानु होस् । तपाईलाई रिस उठ्दा तपाई राम्रो हुने बच्चा रिसाउँदा गलत हुने चाँहि हुदँैन । हामीले जन्माएको बच्चामा हामीभन्दा पुस्तौ पुस्ता अगाडिका जैविक गुण वा अबगुण देखिन सक्छन जसलाई हामी स्वीकार गर्न मात्र गर्न सक्छौ परिवर्तन गर्न सक्दैनौ । पढाईमा अब्बल बच्चा मात्र भबिष्यमा सफल हुन्छ भन्ने भ्रममा नपरौंँ । बच्चाले रुची अनुसार मात्र कुनै पनि कुरा ग्रहण गर्न वा सिक्न सक्दछ।
आमाबुबाको जिम्मेवारी बच्चाको आवश्यकता पुरा गर्ने हो सोख वा रहर पूरा गर्ने होइन । आवश्यकता पनि पूरा नगरेर गैर जिम्मेवार हुने र जे भन्यो त्यही पुर्याएर भबिस्यमा आफुले थेग्नै नसक्ने गरि नफुर्क्याउनु होस् ।
मैले कक्षा मा उत्र्तिण हुनै नसक्ने अति कमजोर ठानेका कैंयन बच्चाहरू आज विभिन्न सिप सिकेर राम्रो ब्यापार ब्यवसायमा लागेर राम्रो आर्थिक हैसियत बनाएको देखेको छु । छोरीले डाक्टर पढिन् भनेर रोएकी म त्यही छोरी क्यानडा थमसन रिभर यूनिभरसिटिबाट उत्कृष्ट नतिजा ल्यएर काउन्सिलरको रूपमा काम गरेकी छोरी देखेर दंग छु । के काम गर्ने कुन पेशा अपनाउने भन्दा पनि कति रुची पूर्वक काम गर्ने भन्ने भन्ने कुराले हरेक पेशाको सफलता निर्धारण गर्दो रहेछ । आजको संसार फराकिलो छ ।
पेशागत विभिद्ता पनि उत्तिकै फस्टाएको रूखका र बाँसका जरामा कला कृती बनाएर होस् वा सामान्य चियाको स्वादलाई परिस्कृत स्वादको ब्रान्ड बनाएर बेचेर होस् मान्छेले चाहे पछि हरेक सानो सानो कुरालाई पेसा बनाएर असामान्य आम्दानी गर्न सक्छ ।सबै भन्दा ठुलो कुरा बालबालिकाको रुची पहिचान गरि सोही अनुसारको वातावरण हामीले प्रदान गर्नुपर्छ । यो कुरा हामीले हेक्का राख्नु पर्छकि बालबालिका होस् वा युवा मनदेखि रूची भएको काम गर्न कठिन भन्दा कठिन संघर्ष गर्न तयार हुन्छन् । रुची नभएको कुरामा जोड गर्नु , दवाब दिनु भनेको पनि एकखालको हिंसा हो जुन हामीले नजानिदो पाराले आफ्नै बालबालिका माथि गरिरहेका हुन्छौँ ।
वास्तवमा हरेक घर, विद्यालय र कलेजहरू प्रयोग साला जस्तै हुन्छन् सबै परिक्षण सफल हुन्छ भन्ने पनि हुदैन । बाबुआमाको इच्छाले डक्टर पढेको छोरो आफ्नो इच्छाले चल्न पाउने दिन आएपछि ब्यापार गर्न थाल्छ । जीवन सिकाई र भोगाई दुवै हो । छोराछोरीले आफूले चाहेजस्तै गरेनन ,भएनन भनेर दुःखि हुनभन्दा उनीहरूको स्वभाब र प्रकृतिको समयमै पहिचान गरौंँ । आफूले सक्ने अभिभावकिय जिम्मेवारी पुरा गरौं । नसक्ने कुराको लागी मनमा खिन्नता नराखौंँ । अभिभावक तथा समाजले बुझ्नै पर्ने कुरा किशोर अबस्था सँगै उनीहरूमा यौन चाहना तथा विपरित लिंगप्रतिको आकर्षण बढ्दैजान्छ । यहि मनोभावलाई सम्हाल्न नसक्दा कैंयन बालबालिका लुकिछिपी अवान्छित यौनक्रियाकलापमा संलग्न हुने
त्यसलाई समाजले बहिस्कृत गर्ने साथीभाई बीच लज्जित हुनुपर्ने र बालबालिकाको मनस्थिती मा नकारात्मक असर परि पढाई तथा काम बिगार्ने अबस्था रहन्छ । हिजोको समाजमा बाल बिबाह हुन्थ्यो र मानिसको यौन जीवन ब्यबस्थित हुन्थ्यो तर आर्थिक जीवन कठिन , महिलाको स्वास्थ्य अवस्था कम्जोर हुन्थ्यो । आज बालबिबाहमा लागेको बन्देज को कारण यौन कुन्ठाबाट सृजित समस्याले लागु औषध सेवन र बलत्कार सम्मका गलत क्रियाकलापमा बालबालिका संलग्न हुने सम्भावना बढिरहेको छ भने सामाजिक संजालमा अश्लिल सामाग्रीको पहुँज , नियम कानुन मिचेर चलाइएका लज , रेस्टुरेन्टहरूका कारण पनि बालबालिका बिग्रने सम्भाबना उत्तिकै छ । पन्ध्र सोह्र बर्ष पुगेपछि हरेक बालबालिकामा यौन चाहना जागृत हुन्छ र विपरित लिङ्गप्रति आकर्षण बढ्ने हुन्छ नै यो प्राकृति सत्यता हो । त्यसलाई अनुशासनका नाममा छोराछोरीलाई गाली गर्ने हप्काउने, किशोर अवस्थाका बालबालिका लाई मनोभावमा असर पर्ने गरि हेला गर्ने होच्याउने गर्नुको सट्टा त्यसका नकारात्म प्रभाव , प्रजनन स्वास्थ्य र पारिवारिक जीवनका सम्बन्धमा खुलस्थ बुझाउँन, सम्झाउन सकेमा बालबालिका आफ्नो स्वास्थे र जीवन का सम्बन्धमा आफै सचेत हुन सिक्छन ।
गतसालदेखि राष्ट्रिय स्तरमा चर्चामा रहेका पल – समिक्षा र सन्दिप लामिछाने – गौसाला २६ काण्ड बाट पनि सरकार , समाज र कानुनी निकायले पनि के बुझ्न जरूरी छ भने किशोर अबस्था का बालबालिकाहरूलाई उमेर खुल्ने परिचय पत्र र जिम्मेवार अभिभावकत्व विना होटल तथा रेस्टुरेन्टका बन्द कोठाहरूमा प्रवेस गर्न रोक लागाईनुपर्छ । अन्त्यमा आजको समाज स्वतन्त्रता र ब्यक्तिगत स्वार्थका नाममा पारिवारिको बिखण्डन गर्ने , सानो परिवार बस्न रुचाउने र सम्बन्ध बिच्छेद गर्न तर्फ उन्मुख भईरहेको छ । श्रीमान श्रीमती मिल्न नसक्ने सानो तिनो कुरामा सम्झौता गर्न नसक्नेको भन्दाको कमको भावना सृजना गर्ने , बैदेशिक रोजगारी र बिबाहोत्तर सम्वन्ध आदिका कारण अभिभावकहरू स्वयम् बिचलित अबस्था भएको देखिन्छ ।
जसको कारण बालबालिकामा नकारात्मक असर पर्न गइरहेको छ । आफ्नो मनोदशा र परिस्थिति बिगारेर सन्तान राम्रो बनाउँछु सोच्नु हावामा महल खडा गर्छु भन्नु जस्तै हो । परिवारिक समझदारी कायम राख्न, नमिलेका कुरा, नचाहेका कति कुरा हुन्छन तीनहरूसँग सम्झौता गर्न ,मिलनसार र सहनसिल हुन
पहिला आफैँले सिक्नुस् । त्यसपछि अनुशासित र असल सन्ताको रहर गर्नुहोस् । यसैमा सबैको कल्याण हुन्छ । (लेखिका, बालबालिका सम्बन्धि गैरसरकारी संस्थामा आवद्ध हुनुहुन्छ) ।