
अजय पाठक
मुलुककको सर्वाङ्गीण विकासको लागि मूल प्रणालीको रुपमा रहेको राजनैतिक प्रणालीको भूमिका ठुलो र महत्वपूर्ण हुन्छ । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिको स्थापना पश्चात् निर्माण भएको संविधानले गरेको व्यवस्थाले बलियो र स्थिर सरकार बन्न केहि कठिनाई महसुस भएकोले हाल राजनैतिक पद्दती नै कमजोर भइरहेको महसुस आम नगारिकले गरिरहेका छ्न । फलस्वरूप देशको चौतर्फी विकासमा यसको असर देखिदै आएको छ । यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा स्वभाविक देखिन्छ । “नेपाल कृषिप्रधान देश“ भन्ने उक्ति भनाईमा मात्र सिमित छ । ब्यवहारिकतामा यस्तो हुन्थ्यो भने मुलुक समृद्धिको यात्रामा निकै अगाडि पुगिसकेको हुन्थ्यो । तसर्थ ः कृषि क्षेत्रको विकास बिना देशको समृद्धि सम्भव छैन ।

कृषि क्षेत्रमा प्रयोग हुने श्रम शक्ति विदेशीने क्रम निरन्तर छ । दैनिक उपभोग्य बस्तुमा पनि आयातमा निर्भर हुनुपर्ने हाम्रो बाध्यता छ । कृषिजन्य उत्पादनमा लाग्ने बढी उत्पादन लागतले किसान मारमा परेका छन् ! यस्तो अवस्थामा किसान र कृषि क्षेत्रले राज्यको संरक्षणको अभाव महसुस गरिरहेको छ ! अनुदान वितरण मा भइरहेको अनियमितता र माफियाकरणले वास्तविक किसानहरु उदासिन देखिन्छन् । हुनत राजनैतिक दलहरु आफ्नो विधान र चुनावी नाराहरुमा यस क्षेत्रको विकास गर्ने चर्को नारा लगाउन पछि पर्दैनन । व्यवहारिक रुपमा त्यस्तो पाहिदैन । नेपाली कांग्रेस लोकतन्त्र र समाजवादमा विस्वास गर्ने पार्टी भएकोले आफ्नो विधानमा स्व. विपी कोइरालाको कृषि र नेपाली कृषकहरुको अवस्था प्रतिको दर्शनमा अधारित छ ।
प्रत्येक किसानको घरमा “एकहल गोरु र एउटा दुहुनो गाई“, योजना आयोगको भित्तामा हलो जोतिरहेको किसानको तस्बिर जस्ता कुराले कृषि क्षेत्रको विकासमा स्पष्ट दृष्टिकोण त्यतिबेला देखि नै रहेको बुझिन्छ ! यहि दृष्टिकोणलाई मुर्तरुप दिन कांग्रेसले आफ्नो विधानमा विभिन्न विभाग तथा सस्थाहरुको ब्यबस्था गरेको छ । यसै अनुरुप किसान संघ नेपाली कांग्रेसको एउटा भातृ संस्थाको रुपमा कृषि क्रान्तिको लागि गठित विभाग भएकाले नुवाकोट जिल्लामा पनि यसको संगठन गरिएको छ । यहि मार्फत जिल्लाका हरेक गाउँ पालिका तथा नगर पालिकाहरुमा वडा कमिटीहरु समेत गठन गर्ने कार्य तदारुकताका साथ भइरहेको छ ।
राजधानीसँगै जोडिएको जिल्ला भएकोले यहाँ उत्पादित कृषि उपजहरु नजिकैको काठमाडौंको जनसंख्याको ठुलो भागलाई दैनिक उपभोग्य सामाग्री निर्यात गर्ने अवसर हामी सित छ । त्यसैकारण, यहाँका कृषकहरुको समूह निर्माण गरि तरकारी, फलफुल, दुग्ध तथा मासुजन्य पदार्थ उत्पादनमा उत्साहित गर्न थालिएको छ । यस्ता कृषक समूहहरुको लागि कृषि ऋणको उचित ब्यबस्था गर्न ऋण दिने निकायहरु सँग सम्बाद जारी छ । अनुदानको समुचित वितरणको लागि दबाब समूह निर्माण गरि नियमित वास्तविक किसान सम्म पुर्याउने, कृषि सम्बन्धि अन्तरक्रिया, तालिम र कृषि प्रदर्शनी जस्ता रचनात्मक कार्यहरु गरि किसान लाई अभिप्रेरित गर्ने उदेश्यमा किसान महासंघ नुवाकोट लागि परेको छ ।
निष्कर्शमा भन्नुपर्दा लामो समय राणाहरुको सामन्तवादी कृषि ब्यवस्थालाई विर्ता उन्मुलन तथा नयाँ भुमी सुधार मार्फत देशको कृषि क्षेत्रको विकास गरेको कांग्रेस अहिले के गरिरहेको छ ? नेपाली कांग्रेसको लक्ष्य अनुरुप आफू सरकारमा हुँदा कृषि क्षेत्रमा भए गरेका कामहरुको पुनःमुल्यांकन गरि यस क्षेत्रको विकासमा अझै लाग्नु पर्ने देखिन्छ । (लेखक ः नेपाली कांग्रेसको भातृ संस्था किसान संघ नुवाकोटको अध्यक्ष हुनुहुन्छ)