
काठमाण्डौ – रसुवाको गोसाइँकुण्डमा मेला शुरु भएको छ। गङ्गा दशहरा पर्वअन्तर्गत तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् । गोसाइँकुण्डमा स्नान र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको पवित्रकुण्ड स्नान गर्न बुधवारदेखि अहिलेसम्म एक हजारभन्दा धेरै भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेका लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताउनुभयो ।
तीर्थालुको चापलाई ध्यानमा राखेर आवश्यक सुरक्षाको प्रबन्ध मिलाएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । यात्रामा कुनै समस्या आएमा जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उहाँको आग्रह छ । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने गर्छ । काठमाण्डौबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक भएर गोसाइँकुण्ड पुग्न सकिन्छ ।
धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लाष्टिकसमेतका फोहर सुरक्षित तवरले तोकिएको ठाउँमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउनेर हिर्काउने कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गोसाइँकुण्ड मेला आउँदो असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।