
जिलिड. । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका विभिन्न वडाका किसानलाई निःशुल्क कफीको विरुवा वितरण गरिएको छ । कफी किसान संघको तर्फबाट उत्पादन गरिएको कफीको विरुवा निःशुल्क रुपमा वितरण गरिएको नुवाकोट कफी किसान संघका अध्यक्ष पुर्णप्रसाद पुडासैनीले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।

आज शनिबार जिलिड. ८ मा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा माओवादी नेतृ विमला सुवेदीले कफि वितरण गर्नुभएको थियो ।
कार्यक्रमा प्रमुख अतिथि सुवेदीले सरकराले कषि क्षेत्रको विकास र विस्तारका लागि यस वर्षको बजेटको राम्रो व्यवस्था गरेको भन्दै कृषि क्षेत्रको विकासबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभयो । उहाले कफी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने भन्दै किसानहरुलाई कफी खेतीका लागि पनि आग्रह गर्नुभएको थियो । संघका अध्यक्ष पुडासैनीका अनुसार गणतान्त्रिक कृषि फर्ममा उत्पादन गरिएको कफीका विरुवा आज मात्रै ६० भन्दा बढि किसानलाई वितरण गरिएको छ ।

यसअघि संघले विश्व वातावरण दिवसका अवसरमा कुमरीमा पनि निःशुल्क रुपमा कफीका विरुवा वितरण गरेको थियो । यस मवर्ष मात्रै ४ हजार विरुवा वितरण गरिएको अध्यक्ष पुडासैनीले जानकारी दिनुभयो । कषि विज्ञहरुका अनुसार कफी खेतीका लागि विशेष गरेर सेपिलो स्थान उपयुक्त हुने गरेको छ । कफीको विरुवा रोपेको तीन वर्षमा उत्पादन सुरु हुने भएकाले तीन वर्षसम्म यसलाई जोगाउनु आवश्यक छ ।

एक पटक खाल्टो खनेर रोपेपछि त्यसलाई सामान्य गोडमेल र गोबर मत तथा गाइबस्तुको पिसाब हाल्न सके अझ राम्रो हुनेछ । कफी नेपालमा भन्दा विदेशमा अझ बढि माग हुने गरेको छ । यसलाई व्यवसायिक रुपमा खेती गर्न सके आम्दानीको राम्रो स्रोत हुने कफी नुवाकोट कफि संघका अध्यक्ष पुडासैनीको भनाई रहेको छ ।